गणेश नेपाली प्रकरणमा ९ बुँदे सहमति, स्वतन्त्र छानबिन समिति गठन हुने
काठमाडौं, २९ असार । वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएका मुगुका २५ वर्षीय गणेश नेपालीको घटनालाई लिएर नेपाल सरकार, काठमाडौं महानगरपालिका र पीडित परिवारबीच ९ बुँदे सहमति भएको छ।
आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा भएको सहमतिअनुसार घटनाको सत्यतथ्य र निष्पक्ष छानबिनका लागि पूर्वन्यायाधीशको संयोजकत्वमा स्वतन्त्र छानबिन समिति गठन गरिनेछ। समितिले गठन भएको सात दिनभित्र नेपाल सरकारसमक्ष प्रतिवेदन बुझाउने सहमति भएको छ।
सहमतिअनुसार छानबिन समितिको प्रतिवेदन र सिफारिसका आधारमा गणेश नेपालीलाई सहिद घोषणा गर्ने विषयमा प्रचलित कानुन र विगतको अभ्यासअनुसार आवश्यक निर्णय प्रक्रिया अघि बढाइनेछ।
घटनाका दिन फिल्डमा खटिएका काठमाडौं महानगर प्रहरीका कर्मचारीलाई तत्कालका लागि निलम्बन गरी छानबिन प्रतिवेदनका आधारमा थप कारबाही गरिने सहमति भएको छ।
पीडित परिवारलाई राहतस्वरूप मृतककी श्रीमतीलाई योग्यता र क्षमताका आधारमा काठमाडौं महानगरपालिकामा रोजगारी उपलब्ध गराइनेछ। साथै, उनकी छोरीको उच्च शिक्षासम्मको सम्पूर्ण खर्च महानगरले व्यहोर्नेछ भने आगामी कार्यपालिका बैठकबाट राहत रकम उपलब्ध गराइने उल्लेख गरिएको छ।
त्यसैगरी, मृतकको अन्तिम संस्कारको सम्पूर्ण व्यवस्था, शव बुझ्ने, पोस्टमार्टमलगायत कानुनी प्रक्रिया सहजीकरण, पीडित परिवार र आफन्तको काठमाडौं आवतजावत तथा बसोबास खर्च महानगरपालिकाले व्यहोर्ने सहमति भएको छ।
सहमतिअनुसार पीडित परिवारका एकाघरका सदस्यहरूको स्वास्थ्य बीमाको व्यवस्था स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमार्फत गरिनेछ।
गणेश नेपालीले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि महानगर प्रहरीले आफ्नो मोटरसाइकलमा ह्वील लक लगाएपछि उत्पन्न विवादका क्रममा आत्मदाहको प्रयास गरेका थिए। गम्भीर घाइते भएका उनको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको थियो।















प्रतिक्रिया दिनुहोस्