सुनिल पौडेलविरुद्धको अवैध सम्पत्ति मुद्दामा विशेष अदालतमा सुनुवाइ सुरु
काठमाडौं, २९ असार । नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध दायर गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी भ्रष्टाचार मुद्दाको सुनुवाइ विशेष अदालतमा सुरु भएको छ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा न्यायाधीश हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासमा मुद्दाको सुनुवाइ सुरु भएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८१ वैशाख ९ गते सार्वजनिक पदमा रहँदा गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा पौडेलविरुद्ध २३ करोड ७५ लाख ४६ हजार रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दायर गरेको थियो। आयोगले उनका दाजु अनिल पौडेलविरुद्ध पनि सम्पत्ति जफतको मागसहित मुद्दा दर्ता गरेको छ।
अख्तियारका अनुसार पौडेलले सार्वजनिक पदमा रहँदा पारिश्रमिक, भत्ता, सेयरलगायतबाट एक करोड १९ लाख २४ हजार ८४६ रुपैयाँ वैध आम्दानी गरेका थिए। तर, सोही अवधिमा २४ करोड ९४ लाख ७१ हजार १७१ रुपैयाँ खर्च तथा लगानी गरेको देखिएको आयोगको दाबी छ। आम्दानी र खर्चको तुलनामा २३ करोड ७५ लाख ४६ हजार ३२४ रुपैयाँ बराबरको सम्पत्ति तथा खर्चको वैध स्रोत पुष्टि हुन नसकेको अख्तियारको निष्कर्ष छ।
पौडेल २०६१ जेठ २० गते राष्ट्रिय सूचना प्रविधि केन्द्रमा करार सेवाबाट सार्वजनिक सेवामा प्रवेश गरेका थिए। त्यसपछि विभिन्न सार्वजनिक पदमा कार्यरत रहेका उनी २०७८ चैत २४ गते नेपाल टेलिकमको प्रबन्ध निर्देशक नियुक्त भएका थिए। अख्तियारले २०६१ देखि २०७९ फागुन ३० गतेसम्म उनले आर्जन गरेको सम्पत्तिमाथि अनुसन्धान गरेको जनाएको छ।













प्रतिक्रिया दिनुहोस्