बागलुङमा घरको पर्खाल भत्किँदा पाँच वर्षीय बालकको मृत्यु

काठमाडौं, २९ असार ।  बागलुङको ढोरपाटन नगरपालिका–२ सलामकोटमा घरको पर्खाल भत्किँदा च्यापिएर पाँच वर्षीय बालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा बडिगाड गाउँपालिका–५ का आशिष भण्डारी रहेका छन्। उनी मावलीघर सलामकोटमा बस्दै आएका थिए।

इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी नायब निरीक्षक सुदीप भट्टराईका अनुसार आइतबार साँझ आँगनमा खेलिरहेका बेला अचानक घरको पर्खाल भत्किएर बालक पुरिएका थिए। गम्भीर अवस्थामा उद्धार गरी बुर्तिबाङ प्रादेशिक अस्पताल पुर्‍याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

प्रहरीका अनुसार कच्ची संरचनामा बनाइएको पिँढीको मुख्य पर्खाल भत्किँदा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्