खरीपाटी सारिएका सुकुमवासीलाई छिट्टै लालपुर्जा वितरण गर्ने सरकारको आश्वासन
काठमाडौं, २८ असार । कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबान भएपछि खरीपाटी सारिएका सुकुमवासीलाई सरकारले छिट्टै लालपुर्जा उपलब्ध गराउने आश्वासन दिएको छ। आइतबार मन्त्रीहरूको टोली नै खरीपाटी पुगेर सुकुमवासीसँग भेट गर्दै समस्या समाधानका लागि प्रक्रिया अघि बढिरहेको जानकारी दिएको हो।
मन्त्री प्रतिभा रावलले सुकुमवासीलाई सुरक्षित स्थानमा सार्नुको उद्देश्य नै उनीहरूलाई व्यवस्थित बसोबास र लालपुर्जा उपलब्ध गराउनु रहेको बताइन्। उनले सुकुमवासीको नाममा वर्षौंदेखि हुँदै आएको राजनीतिको अन्त्य गर्न सरकारले दीर्घकालीन समाधान खोजिरहेको दाबी गरिन्।
मन्त्री रावलका अनुसार असारको तेस्रो सातादेखि लालपुर्जा वितरण सुरु गर्ने विषय आफूले संसद्को रोष्ट्रमबाटै जानकारी गराएकी थिइन्। सोही योजनाअनुसार बर्दियाबाट लालपुर्जा वितरण सुरु भइसकेको र क्रमशः अन्य जिल्लामा पनि विस्तार गरिने उनले बताइन्।
आगामी केही साताभित्र देशका विभिन्न जिल्लामा लालपुर्जा वितरण प्रक्रिया अघि बढ्ने उनको भनाइ छ। तर, होल्डिङ सेन्टरमा रहेका सुकुमवासीको हकमा भने आवश्यक कागजात प्रमाणीकरण र जग्गा पहिचानको प्रक्रिया पूरा गरेपछि मात्र लालपुर्जा वितरण गरिने उनले स्पष्ट पारिन्।
“हामीले सुकुमवासी मात्र पहिचान गरेर भएन, जग्गा पनि पहिचान गर्नुपर्छ। सबै प्रक्रिया पूरा गर्न केही समय लाग्न सक्छ, तर समाधान हुन्छ,” मन्त्री रावलले भनिन्।
उनले जग्गाधनी प्रमाणीकरण प्रक्रिया विवाद र भविष्यमा कानुनी समस्या नआओस् भन्ने उद्देश्यले अपनाइएको बताइन्। जग्गा पहिचानको काम संवेदनशील र जटिल भएकाले केही समय लाग्ने उनको भनाइ थियो।
मन्त्री रावलले विभिन्न होल्डिङ सेन्टरमा रहेका सुकुमवासीलाई प्राथमिकतामा राखेर काम भइरहेको जानकारी दिँदै निश्चित समयसीमा तोक्न नसकिए पनि उनीहरूले छिट्टै लालपुर्जा पाउने विश्वास व्यक्त गरिन्।
यसैगरी, गृहमन्त्री सुधन गुरुङले सुकुमवासीका बालबालिकाको शिक्षा लगायतका विषयमा सरकार गम्भीर रहेको र आवश्यक जिम्मेवारी लिने बताए। स्वास्थ्यमन्त्री निशा मेहताले पनि सुकुमवासीलाई स्वास्थ्यसम्बन्धी समस्या आए मन्त्रालयले सक्रिय रूपमा सहयोग गर्ने प्रतिबद्धता जनाइन्।
कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबानमा परेपछि प्रभावित सुकुमवासीलाई शनिबार खरीपाटी सारिएको थियो। त्यसपछि सरकारका मन्त्रीहरूले स्थलगत पुगेर उनीहरूको समस्या समाधानका लागि पहल भइरहेको बताएका हुन्।













प्रतिक्रिया दिनुहोस्