गोरखामा धान रोपाइँको समयमा मल अभाव, मागको एकतिहाइ मात्र आपूर्ति

काठमाडौं, २८ असार । धान रोपाइँको मुख्य समयमा गोरखाका किसानले रासायनिक मलको अभाव झेलिरहेका छन्। जिल्लामा आवश्यक पर्ने मलको तुलनामा एकतिहाइ मात्र आपूर्ति हुँदा किसानलाई खेती गर्न समस्या भएको छ।

कृषि विकास कार्यालय गोरखाका अनुसार जिल्लामा यस वर्ष धान खेतीका लागि करिब तीन हजार ५०० मेट्रिकटन रासायनिक मल आवश्यक पर्ने अनुमान गरिएको छ। तर हालसम्म एक हजार १०० मेट्रिकटन मात्र मल प्राप्त भएको छ।

कार्यालय प्रमुख कुलप्रसाद तिवारीले प्राप्त मल कोटा निर्धारण गरी स्थानीय तहलाई उपलब्ध गराइएको बताए। स्थानीय तहले समूह र सहकारीमार्फत किसानलाई मल वितरण गरिरहेका छन्।

“हामीले मल ल्याएर कोटा छुट्याई पालिकालाई उपलब्ध गराउँछौँ। पालिकाले समूह र सहकारीमार्फत किसानलाई वितरण गर्नुहुन्छ,” तिवारीले भने, “तर केही स्थानमा सहकारीका सदस्यलाई मात्र मल वितरण गरिएको र अन्य किसानले मल नपाएको गुनासो पनि आएको छ।”

धान रोपाइँ, गोडमेल र बाला लाग्ने समयमा मलको माग अत्यधिक हुने भएकाले आपूर्ति बढाउन सम्बन्धित निकायसँग निरन्तर समन्वय भइरहेको उनले बताए।

गोरखा नगरपालिका–१० छेपेटारका किसान विष्णु पाठकले पर्याप्त मल नपाउँदा खेती प्रभावित भएको गुनासो गरे। उनका अनुसार तीन घण्टा लाइन बसेपछि पाँच किलो मात्र मल प्राप्त भएको छ।

छेपेटारस्थित महादेवटारी सहकारी संस्थाकी अध्यक्ष शेल्चा तामाङले मागअनुसार मल उपलब्ध हुन नसक्दा किसानलाई थोरै मात्रामा वितरण गर्नुपरेको बताइन्।

“१०० बोरा मल आएको भए सहज हुन्थ्यो, तर जम्मा १५ बोरा मात्र प्राप्त भयो,” उनले भनिन्, “जति आएको थियो, सबै किसानलाई पाँच–पाँच किलोका दरले बाँडेका छौँ।”

पालुङ्टार नगरपालिका–१० मा धान रोपाइँ सुरु भएको दुई साता बितिसक्दा पनि धेरै किसानले मल पाउन सकेका छैनन्। मागको तुलनामा आपूर्ति निकै कम भएकाले सबै किसानलाई वितरण गर्न नसकिएको वडा अध्यक्ष रिखीराज धौरालीले बताए।

“हाम्रो वडामा चारदेखि ५०० किसान छन्, तर जम्मा ३२ बोरा मल आएको छ,” उनले भने, “दुई वटा सहकारीलाई १६–१६ बोरा उपलब्ध गराएका छौँ। उनीहरूले वितरण गरिरहेका छन्।”

यस वर्ष चैतमा लगाइएको धान मरुवा रोगका कारण नष्ट भएको र अहिले मल अभावले किसान थप समस्यामा परेको वडा अध्यक्ष धौरालीले बताए।

धान उत्पादनको महत्वपूर्ण समयमै मल अभाव हुँदा उत्पादन घट्ने चिन्ता किसानले व्यक्त गरेका छन्। किसानले तत्काल पर्याप्त मात्रामा मल उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्