सुन्दरीजलमै खानेपानीको हाहाकार, मुहान क्षेत्रका बासिन्दा काकाकुल
काठमाडौं, २८ असार । काठमाडौँ उपत्यकाको प्रमुख खानेपानी आपूर्ति केन्द्र सुन्दरीजलका स्थानीय वर्षौंदेखि नियमित खानेपानी सेवाबाट वञ्चित हुँदै आएका छन्। राजधानीमा वितरण हुने मेलम्चीको पानी सुन्दरीजलमा प्रशोधन हुने भए पनि गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिकाका धेरै बस्तीमा पर्याप्त खानेपानी आपूर्ति हुन नसक्दा स्थानीय ढुङ्गेधारा, कुवा र सार्वजनिक धारामा निर्भर छन्।
मुहान क्षेत्रकै बासिन्दाले खानेपानी अभाव भोग्नुपरेको विषयमा स्थानीय तथा सङ्घीय जनप्रतिनिधिले पटक–पटक सरकारको ध्यानाकर्षण गराउँदै आए पनि समस्या समाधान हुन सकेको छैन।
काठमाडौँ निर्वाचन क्षेत्र नं. ३ का सांसद राजुनाथ पाण्डेले सुन्दरीजल क्षेत्रको खानेपानी समस्या समाधान नभए मेलम्चीको पानी राजधानीमा वितरण गर्न नदिने चेतावनी दिएका छन्। खानेपानी तथा पूर्वाधारसँग सम्बन्धित संसदीय समितिको बैठकमा उनले समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराएका थिए।
शनिबार सांसद पाण्डेले सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रतिनिधिसँग छलफल गर्दै स्थानीय खानेपानी समस्या समाधानका लागि आवश्यक पहल गर्न निर्देशन दिएका छन्।
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ बाट २७.५ किलोमिटर लामो सुरुङमार्फत सुन्दरीजल ल्याइएको मेलम्चीको पानी यहीँ प्रशोधन गरी उपत्यकाका विभिन्न क्षेत्रमा वितरण गरिन्छ। यसका साथै वाग्मती नदीको पानी पनि सुन्दरीजलबाट प्रशोधन गरी वितरण हुँदै आएको छ। तर पानीको स्रोतस्थल आसपासका बासिन्दाले भने अझै नियमित र स्वच्छ खानेपानी पाउन सकेका छैनन्।
कागेश्वरी मनोहरा नगरपालिका–३ भद्रवासकी सावित्री सापकोटाले खानेपानी लिन दैनिक संघर्ष गर्नुपरेको बताइन्। उनका अनुसार १० लिटर पानी लिन गोकर्णेश्वर नगरपालिका–१ रुप्सेटारस्थित सार्वजनिक धारासम्म पुग्न करिब आधा घण्टा पैदल हिँड्नुपर्छ। धारामा पालो कुर्दा दुई घण्टासम्म समय बित्ने गरेको उनको भनाइ छ।
“धारामा सधैँ लामो लाइन हुन्छ। घण्टौँ कुर्नुपर्छ, त्यसपछि मात्र पानी भर्ने पालो आउँछ,” उनले भनिन्।
सोही क्षेत्रका केशवप्रसाद पुडासैनीले नगरपालिकाले विभिन्न खानेपानी आयोजना सञ्चालन गरे पनि दिगो व्यवस्थापन हुन नसक्दा स्थानीयवासी स्वच्छ खानेपानीको अधिकारबाट वञ्चित हुनुपरेको बताए।
गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता नारायणबहादुर सुवेदीले नगरपालिकाले आफ्नै बजेटबाट आवश्यक पाइप विस्तार गरी केयुकेएललाई हस्तान्तरण गरे पनि अपेक्षाअनुसार खानेपानी वितरण हुन नसकेको स्वीकार गरे।
स्थानीय प्रेम श्रेष्ठका अनुसार सुन्दरीजलस्थित पुरानो वाग्मती पानी प्रशोधन केन्द्र लामो समयदेखि प्रभावकारी रूपमा सञ्चालन हुन नसक्दा स्थानीय क्षेत्रमा पानी वितरण प्रभावित भएको छ। उनले केन्द्रको शीघ्र मर्मत गरी नियमित र शुद्ध खानेपानी उपलब्ध गराउन माग गरे।
केयुकेएलका प्रबन्ध निर्देशक रामरतन साहले सुन्दरीजल क्षेत्रमा खानेपानी समस्या पुरानो वितरण प्रणालीका कारण देखिएको बताए। उनका अनुसार पञ्चायतकालमा निर्माण गरिएको पाइपलाइन अहिलेको बढ्दो जनघनत्व धान्न नसक्ने अवस्थामा पुगेको छ।
उनले नयाँ वितरण प्रणाली निर्माण गर्ने विषयमा सांसद पाण्डेसँग सहमति भएको जानकारी दिए।
यसैबीच, सुन्दरीजलस्थित वाग्मतीतर्फको पुरानो पानी प्रशोधन केन्द्र प्रभावकारी रूपमा सञ्चालन हुन नसक्दा बौद्ध क्षेत्रसम्म वितरण हुने पानी धमिलो हुने गरेको स्थानीयवासीले गुनासो गरेका छन्।
अत्तरखेलका स्थानीय नोर्साङ शेर्पाका अनुसार धमिलो पानी प्रयोग गर्दा कपडा राम्रोसँग सफा नहुने र नुहाएपछि शरीर चिलाउने समस्या देखिने गरेको छ। नागरिक समाजले एक दशकभन्दा लामो समयदेखि समस्या उठाउँदै आए पनि सम्बन्धित निकायबाट प्रभावकारी पहल हुन नसकेको उनको भनाइ छ।
मेलम्चीको पानी प्रशोधन हुने सुन्दरीजल क्षेत्रकै बासिन्दाले खानेपानीका लागि संघर्ष गर्नुपर्ने अवस्था अन्त्य गर्न स्थानीयले दीर्घकालीन समाधान, नयाँ वितरण प्रणाली र पुराना संरचनाको सुधारको माग गरेका छन्।













प्रतिक्रिया दिनुहोस्