खजुराले बनायो हुलाकी सडकको वैकल्पिक मार्ग, नेपालगञ्ज–गुलरिया आवतजावत सहज हुने
काठमाडौं, २८ असार । खजुरा गाउँपालिकाले नेपालगञ्ज–गुलरिया हुलाकी सडकको वैकल्पिक मार्गका रूपमा धवलागिरि गाउँ हुँदै बीगाउँ जोड्ने सडक निर्माण गरेको छ।
गाउँपालिका अध्यक्ष डम्बरबहादुर विकका अनुसार खजुरा बजार क्षेत्रमा पर्ने मुख्य सडकमा हुने सम्भावित अवरोधलाई ध्यानमा राख्दै खजुरा गाउँपालिका–३ स्थित आदर्श माध्यमिक विद्यालय, धवलागिरि गाउँ हुँदै बीगाउँ जोड्ने वैकल्पिक सडक निर्माण गरिएको हो।
अब हुलाकी सडकअन्तर्गत खजुरा बजार वा पेडारी नाला क्षेत्रमा कुनै समस्या वा अवरोध आए पनि उक्त वैकल्पिक सडक प्रयोग गरी नेपालगञ्ज–गुलरिया सहज रूपमा आवतजावत गर्न सकिने गाउँपालिकाले जनाएको छ।
प्रदेश सरकारको ६ करोड १० लाख ९० हजार २८६ रुपैयाँ लागतमा पुल निर्माण सम्पन्न भएपछि खजुरा बजार क्षेत्रको मुख्य सडकको विकल्पका रूपमा यो सडक निर्माण गरिएको हो।
खजुरा गाउँपालिकाले आफ्ना आठवटै वडाका बस्तीलाई कालोपत्रे सडक सञ्जालमा जोड्ने लक्ष्यसहित काम अघि बढाइरहेको जनाएको छ। गाउँपालिकाले प्रत्येक टोलमा कालोपत्रे सडक विस्तार गरी ‘धुलोरहित गाउँ’ निर्माण गर्ने तथा ढल र नालाको निर्माण एवं स्तरोन्नति गरी उचित पानी निकासको व्यवस्था गर्दै ‘डुबानमुक्त गाउँ’ बनाउने योजना अघि सारेको छ।













प्रतिक्रिया दिनुहोस्