पहिलोपटक विश्वकपको सेमिफाइनलमा फिफा वरीयताका शीर्ष चार टोली
काठमाडौं, २८ असार । विश्व फुटबलको इतिहासमा पहिलो पटक फिफा वरीयताका शीर्ष चार टोली एकैसाथ विश्वकपको सेमिफाइनलमा पुगेका छन्। स्पेन, अर्जेन्टिना, फ्रान्स र इङ्ग्ल्यान्डले अन्तिम चारमा स्थान बनाउँदै नयाँ इतिहास रचेका हुन्।
विश्वकप २०२६ को ड्र प्रक्रियामा गरिएको परिवर्तनपछि यी चार टोलीलाई सुरुदेखि नै फरक–फरक समूहमा राखिएको थियो। त्यसका कारण सेमिफाइनलअघि उनीहरूबीच प्रतिस्पर्धा हुन पाएन।
फिफाले अपनाएको नयाँ व्यवस्थाअनुसार शीर्ष वरीयताका टोलीलाई नकआउट चरणको सुरुवातमै एकअर्कासँग नजुध्ने गरी तालिका तयार गरिएको थियो। यसका लागि सबै टोलीले आफ्नो समूहमा शीर्ष स्थान हासिल गर्नुपर्ने थियो, जुन उनीहरूले सफलतापूर्वक पूरा गरे।
यस व्यवस्थाअनुसार अब सेमिफाइनलमा स्पेनले फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ भने अर्जेन्टिनाले इङ्ग्ल्यान्डको सामना गर्नेछ।
फिफाले यो परिवर्तनलाई प्रतियोगितामा प्रतिस्पर्धात्मक सन्तुलन कायम राख्ने प्रयासका रूपमा व्याख्या गरेको छ। प्रतियोगिताको अन्तिम चरणसम्म बलिया टोलीको उपस्थितिले उच्चस्तरीय प्रतिस्पर्धा र आकर्षक खेल सुनिश्चित हुने अपेक्षा गरिएको छ।
यसअघि ३२ टोली सहभागी हुने विश्वकपमा समूह विजेताहरू प्रारम्भिक नकआउट चरणमै एकअर्कासँग भिड्ने सम्भावना कम थियो। तर ४८ टोली सहभागी हुने नयाँ ढाँचामा थपिएको अतिरिक्त नकआउट चरणका कारण बलिया टोलीहरू चाँडै आमनेसामने हुने सम्भावना बढेपछि फिफाले ड्र प्रक्रियामा परिवर्तन गरेको हो।
फिफा वरीयता प्रणाली सन् १९९४ देखि लागू भए पनि विश्वकप इतिहासमा शीर्ष चार वरीयताका सबै टोली एकैपटक सेमिफाइनलमा पुगेको यो पहिलो अवसर हो। यसअघि बेल्जियम, जर्मनी, स्पेन, इटाली र फ्रान्सजस्ता शीर्ष वरीयताका टोलीहरू विभिन्न संस्करणमा समूह चरणबाटै बाहिरिएका उदाहरण छन्।
यसपटक भने फिफाले अपनाएको नयाँ ढाँचाले अपेक्षित परिणाम दिएको छ र विश्व फुटबलका चार बलिया टोली उपाधि दौडमा कायम रहेका छन्।













प्रतिक्रिया दिनुहोस्