सुकुम्बासीलाई अर्को जोखिममा धकेलियो : कांग्रेस नेता आङ्देम्बे

काठमाडौं, २८ असार । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुकुम्बासी बस्तीबाट हटाइएका नागरिकलाई सरकारले सुरक्षित व्यवस्थापन गर्न नसकेको आरोप लगाएका छन्।

आइतबार जारी गरेको वक्तव्यमा आङ्देम्बेले कीर्तिपुरस्थित होल्डिङ केन्द्रमा आश्रय लिइरहेका सुकुम्बासी परिवार बाढीबाट प्रभावित भएपछि सरकारले नागरिकलाई एउटा जोखिमबाट निकालेर अर्को अझ ठूलो जोखिममा धकेलेको बताएका छन्।

प्रधानमन्त्री बालेन शाहले यसअघि असुरक्षित स्थानमा बसोबास गरिरहेका नागरिकलाई सुरक्षित र व्यवस्थित स्थानमा स्थानान्तरण गर्ने सार्वजनिक प्रतिबद्धता जनाएको स्मरण गराउँदै आङ्देम्बेले उक्त प्रतिबद्धता कार्यान्वयन नभएको टिप्पणी गरेका छन्।

उनले सुरक्षित आश्रयको आश्वासन पाएका सुकुम्बासी परिवार अहिले भोक, पानी, हिलो, अभाव र असुरक्षाबीच जीवन बिताउन बाध्य भएको उल्लेख गर्दै यसलाई राज्यको गैरजिम्मेवारी, असंवेदनशीलता र शासन व्यवस्थाको असफलताको उदाहरण बताएका छन्।

आङ्देम्बेले कीर्तिपुर होल्डिङ केन्द्रमा पुगेर पीडितको अवस्था बुझ्न र सरकारसँग जवाफ माग्न गएका युवालाई नियन्त्रणमा लिइएको घटनाप्रति पनि आपत्ति जनाएका छन्। लोकतान्त्रिक व्यवस्थामा नागरिकले प्रश्न उठाउन पाउने अधिकारमाथि हस्तक्षेप गर्न नहुने उनको भनाइ छ।

प्रधानमन्त्रीले आफ्नै सार्वजनिक प्रतिबद्धताप्रति जवाफदेही हुनुपर्ने उल्लेख गर्दै आङ्देम्बेले सुकुम्बासी नागरिकसँग गरिएको वाचा पूरा गर्न सरकारसँग आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्