प्रकाशको शोकमा चुनाव प्रचारप्रसारका सबै कार्यक्रम स्थगित
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का पुत्र प्रकाश दाहालको निधनले चितवन क्षेत्र नं ३ स्तब्ध बनेको छ ।
अध्यक्ष दाहालको गृह जिल्ला र चुनावी क्षेत्र भएकाले प्रकाशको निधनसँगै चितवनका सर्वसाधारण दुखित भएका छन् । चुनावी प्रचार अभियान भइरहँदा प्रकाशको निधनसँगै वाम र लोकतान्त्रिक गठबन्धनले आज सबै चुनावी प्रचारका कार्यक्रम स्थगन गरेका छन् ।
प्रकाश दाहाल २०३८ साल जेठ १८ गते चितवनको भरतपुर महानगरपालिका वडा नं १४ भीमसेननगरमा जन्मिएका हुन् ।
माओवादी केन्द्रका अध्यक्ष दाहालसँग चुनावी प्रतिस्पर्धामा रहेका लोकतान्त्रिक गठबन्धनका उम्मेदवार वन तथा भूसंरक्षणमन्त्री विक्रम पाण्डेले दाहाल परिवारमा परेको पीडाप्रति आफू मर्माहित भएको जनाउँदै आज घरदैलो र चुनावीसभाका सबै कार्यक्रम स्थगन गरिएको बताए । उनले भने , “एक होनाहार युवाको निधन भएको छ, म दुःखित छु । दाहाल परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछु ।”
त्यस्तै वाम गठबन्धनले जिल्लाका तीन वटै क्षेत्रमा आज गर्ने भनेको घरदैलो र चुनावीसभाका कार्यक्रम सबै स्थगन गरिएको माओवादी केन्द्र चितवनका इन्चार्ज ईश्वरी भट्टराईले बताए ।
वाम गठबन्धनले यही मङ्सिर ५ गते भरतपुरमा गर्ने भनिएको चुनावीसभा पनि हालका लागि स्थगन गरिएको छ । सो सभालाई माओवादी केन्द्रका अध्यक्ष दाहाल र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम थियो ।
प्रकाशको निधनसँगै भरतपुरमा रहेकी प्रचण्डकी छोरी भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालसहित जिल्लाका माओवादी नेता र शुभेच्छुक हेलिकप्टर र जहाजमार्फत काठमाडौं आएका हुन् ।
प्रतिक्रिया दिनुहोस्