होल्डिङ केन्द्रका बालकलाई हर्क साम्पाङको ५० हजार रुपैयाँ सहयोग घोषणा

काठमाडौं, २८ असार । कीर्तिपुरस्थित होल्डिङ केन्द्रमा आश्रय लिइरहेका सुकुम्बासी परिवारमाथि शनिबार राति आएको बाढीपछि सुरक्षित स्थानतर्फ जाँदै गरेको एक बालकको तस्बिर सामाजिक सञ्जालमा व्यापक रूपमा चर्चामा आएको छ।

काँधमा जेब्रा झोला बोकेर हिँडिरहेका ती बालकको तस्बिर सार्वजनिक भएपछि श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले बालकलाई आफ्नो व्यक्तिगत तर्फबाट ५० हजार रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेका छन्।

सामाजिक सञ्जालमार्फत साम्पाङले सरकारका कारण पीडामा परेका बालकलाई आफ्नो तर्फबाट सानो सहयोग गर्न लागेको उल्लेख गरेका छन्। उनले बालकको अवस्थाप्रति दुःख व्यक्त गर्दै कठिन परिस्थितिमा साथ दिन चाहेको बताएका छन्।

साम्पाङले अर्को सन्देशमार्फत सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्यालाई राज्यले गम्भीर रूपमा लिनुपर्ने धारणा राखेका छन्। आफू धरान उपमहानगरपालिकाको प्रमुख हुँदा सुकुम्बासी बस्तीमा घर नम्बर वितरण, नाली निर्माण, घर मर्मतका लागि बजेट व्यवस्थापन तथा आर्थिक सहयोगलगायतका काम गरेको दाबी गर्दै वर्तमान सरकारले भने सुकुम्बासीलाई बेघर बनाएको आरोप लगाएका छन्।

उनले देशको भविष्य बालबालिकाको भविष्यसँग जोडिएको उल्लेख गर्दै उनीहरूको संरक्षण र अधिकार सुनिश्चित गर्न सरकार तथा समाजलाई आग्रह गरेका छन्।

बाढीपछि होल्डिङ केन्द्रबाट सुरक्षित स्थानतर्फ सर्दै गरेका आश्रित परिवारको तस्बिर सार्वजनिक भएपछि त्यसले सामाजिक सञ्जालमा व्यापक चर्चा पाएको छ। सोही तस्बिर देखेपछि साम्पाङले आर्थिक सहयोगको घोषणा गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्