कोचिङ सेन्टर विवादमा जोडिएका भारतीय नागरिकको मृत्यु प्राकृतिक, प्रहरीद्वारा अनुसन्धान टुंगियो

काठमाडौं, २६ असार । भारतको बिहारस्थित दुई चर्चित कोचिङ सेन्टरबीचको विवादमा जोडिएका भारतीय नागरिक प्रिन्स यादवको विराटनगरमा भएको मृत्युबारे नेपाल प्रहरीले अनुसन्धान टुंग्याएको छ। प्रहरीले उनको मृत्यु शंकास्पद नभई प्राकृतिक कारणले भएको निष्कर्ष निकालेको जनाएको छ।

२४ वर्षीय भारतीय नागरिक प्रिन्स यादव भारतमा चर्चित खान ग्लोबल स्टडिज र ज्ञानबिन्दु एकेडेमीबीचको विवाद तथा गोलीकाण्ड प्रकरणसँग जोडिएका व्यक्ति मानिएका थिए। उनी विराटनगरमा मृत भेटिएपछि घटनाबारे अनुसन्धान गर्न मोरङ प्रहरीले उनीसँगै आएका चार भारतीय नागरिकलाई नियन्त्रणमा लिएको थियो।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पोस्टमार्टम रिपोर्ट, भिसेरा परीक्षण तथा अन्य अनुसन्धानबाट प्रिन्सको मृत्युमा कुनै शंकास्पद अवस्था नदेखिएको पुष्टि भएको छ। प्रहरीका अनुसार उनी मुटुसम्बन्धी समस्याबाट पीडित रहेको र नियमित औषधि सेवन गर्ने गरेको तथ्यसमेत खुलेको छ।

प्रिन्सको मृत्युमा आपराधिक संलग्नता नदेखिएपछि उनीसँगै रहेका २५ वर्षीय अंकितकुमार यादव, २७ वर्षीय रोशन यादव, २१ वर्षीय लटु यादव र ३० वर्षीय जयराम यादवविरुद्ध अभद्र व्यवहार सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको थियो। मोरङका प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार चारै जना जनही २५ हजार रुपैयाँ धरौटीमा रिहा भएका छन्।

प्रहरीका अनुसार प्रिन्स यादव भारतको पटनास्थित ज्ञानबिन्दु एकेडेमीका सञ्चालक रोशन आनन्दका कान्छा भाइ हुन्। खान ग्लोबल स्टडिजका सञ्चालक फैजल खानले रोशन आनन्द र प्रिन्सविरुद्ध जाहेरी दिएपछि उनी प्रहरीको खोजीमा थिए। त्यसपछि प्रिन्स साथीहरूसँग नेपाल आएर विराटनगरमा बस्दै आएका थिए।

उनीहरू २० जेठमा विराटनगर आएका थिए। सुरुमा दुई दिन मेट्रो होटलमा बसेपछि विराटनगर–१० स्थित शुभ होटलमा सरेका थिए। गत केही दिनदेखि शुभ होटलमै बसिरहेका प्रिन्स अचेत भएपछि उनका साथीहरूले राति करिब १०:५५ बजे न्युरो अस्पताल पुर्‍याएका थिए। अस्पताल प्रशासनका अनुसार अस्पताल पुग्दासम्म उनको मृत्यु भइसकेको थियो।

भारतीय सञ्चारमाध्यमका अनुसार फैजल खान (खान सर) र रोशन आनन्द एक समय एउटै संस्थामा अध्यापन गर्थे। कोरोना महामारीपछि दुवैले छुट्टाछुट्टै कोचिङ सेन्टर सञ्चालन गरेपछि उनीहरूबीच व्यावसायिक प्रतिस्पर्धा बढ्दै गएको थियो।

गत जुन २ मा ज्ञानबिन्दु एकेडेमीसँग आबद्ध समूहले खान ग्लोबल स्टडिजमा आक्रमण गरेको आरोप लागेको थियो। घटनाका क्रममा खान ग्लोबल स्टडिजका सुरक्षाकर्मीले समेत गोली चलाएको बताइएको छ। उक्त घटनासम्बन्धी मुद्दा भारतको अदालतमा विचाराधीन रहेको छ।

प्रतिक्रिया दिनुहोस्