गणेश नेपालीको मृत्यु पछि माइतीघरमा प्रदर्शन, राइडरहरूले उठाए राज्यको संवेदनशीलतामाथि प्रश्न

काठमाडौं, २६ असार । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारका क्रममा शुक्रबार निधन भएको छ। उनको निधनपछि आक्रोशित नागरिक, चालक तथा राइडरहरूले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।

बिहीबार आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका नेपालीको वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। काठमाडौं महानगरपालिकाका नगर प्रहरीले पार्किङ निषेधित क्षेत्रमा मोटरसाइकल राखेको भन्दै ‘ह्विल लक’ गरेपछि असन्तुष्ट बनेका नेपालीले आत्मदाहको प्रयास गरेको बताइएको छ।

नेपालीको निधनपछि प्रदर्शनमा उत्रिएका सहभागीहरूले राज्य संयन्त्र गरिब, श्रमिक र सर्वसाधारणप्रति संवेदनशील नभएको आरोप लगाए।

प्रदर्शनकारीहरूले अव्यवस्थित पार्किङ प्रणाली, चर्को जरिवाना र राइडरहरूको हकहितका लागि स्पष्ट नीति नहुँदा यस्ता दुःखद घटना दोहोरिएको बताएका छन्।

उनीहरूले घटनाका समयमा महानगरका कर्मचारीहरू उपस्थित भए पनि नेपालीलाई बचाउन पर्याप्त पहल नगरेको आरोप लगाउँदै निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन्।

राइड सेयरिङमा आबद्ध युवाहरूले सरकारले कर र जरिवाना असुलीमा मात्र ध्यान दिएको तर श्रमिकको सुरक्षा र व्यवस्थापनमा बेवास्ता गरेको गुनासो गरेका छन्। यातायात विभागले राइड सेयरिङ सेवाका लागि स्पष्ट कानुनी व्यवस्था नगर्दा भाडादर, सुरक्षा र कम्पनीहरूको कमिसन प्रणालीमा समस्या रहेको उनीहरूको भनाइ छ।

प्रदर्शनकारीहरूले मुलुकमा महँगी र बेरोजगारी बढिरहेको अवस्थामा युवामाथि जरिवाना र करको दबाब थपिएको भन्दै सरकारको आलोचना गरेका छन्।

“यो राज्यको निरंकुशता र संवेदनहीनताको पराकाष्ठा हो,” प्रदर्शनकारीहरूले भने।

उनीहरूले अव्यावहारिक जरिवाना हटाउन, काठमाडौंभित्र पर्याप्त पार्किङको व्यवस्था गर्न र राइडरहरूका लागि स्पष्ट कार्यविधि बनाउन सरकारसँग माग गरेका छन्।

राज्यले नागरिकको जीवन सुरक्षाको ग्यारेन्टी नगरे आन्दोलन थप सशक्त बनाउने चेतावनीसमेत प्रदर्शनकारीहरूले दिएका छन्।

प्रतिक्रिया दिनुहोस्