ट्रम्पको हस्तक्षेपपछि अमेरिकी खेलाडीको प्रतिबन्ध हटाइयो, फिफामाथि छानबिनको माग
काठमाडौं। , २५ असार । विश्वकप फुटबल २०२६ का क्रममा अमेरिकी स्ट्राइकर फोलारिन बालगनमाथि लागेको एक खेलको प्रतिबन्ध फिफाले हटाएपछि विवाद चर्किएको छ। घटनालाई लिएर ७२ जना युरोपेली सांसदहरूले फिफा र अध्यक्ष जियानी इन्फान्टिनोमाथि राजनीतिक तटस्थता कायम राख्न नसकेको आरोप लगाउँदै छानबिनको माग गरेका छन्।
विश्वकपअन्तर्गत अमेरिका र बोस्निया–हर्जगोभिनाबीचको खेलमा रातो कार्ड पाएका बालगनले नियमअनुसार बेल्जियमविरुद्धको अर्को खेल गुमाउनुपर्ने थियो। तर, फिफाको अनुशासन समितिले उनको एक खेलको प्रतिबन्ध रोक्का गरेपछि उनी बेल्जियमविरुद्ध मैदानमा उत्रिएका थिए। उक्त खेलमा अमेरिका ४–१ गोलले पराजित भएको थियो।
विवाद त्यसपछि थप चर्किएको हो, जब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई फोन गरेर बालगनको रातो कार्ड पुनरावलोकन गर्न आग्रह गरेको सार्वजनिक गरेका थिए। ट्रम्पले उक्त निर्णयलाई ‘ठूलो अन्याय’ भएको बताएका थिए।
यसबारे प्रतिक्रिया दिँदै इन्फान्टिनोले फिफाका न्यायिक निकाय स्वतन्त्र रहेको र निर्णय कानुनी प्रक्रियाअनुसार भएको बताएका छन्। उनले राष्ट्रपति ट्रम्पलाई पनि निर्णय सक्षम निकायबाट हुने जानकारी गराएको दाबी गरेका छन्।
यसैबीच, युरोपेली संसदका ७२ सदस्यहरूले युरोपका २७ वटा फुटबल संघलाई पत्र लेख्दै प्रतिबन्ध हटाउने निर्णयको निष्पक्ष छानबिन गर्न आग्रह गरेका छन्। उनीहरूले फिफाको आचारसंहिताअनुसार फुटबलमा राजनीतिक हस्तक्षेप निषेध गरिएकाले घटनाले गम्भीर प्रश्न उठाएको बताएका छन्।
यसअघि पनि इन्फान्टिनोले राष्ट्रपति ट्रम्पलाई ‘फिफा शान्ति पुरस्कार’ प्रदान गरेको विषयलाई लिएर ५० जना युरोपेली सांसदहरूले फिफाको नैतिकतामाथि प्रश्न उठाएका थिए।
युरोपेली फुटबल महासंघ (युइएफए) ले पनि फिफाको निर्णयको आलोचना गर्दै यसलाई ‘बुझ्न कठिन’ र फुटबल प्रशासनका लागि खतरनाक नजिर भएको जनाएको छ।
युइएफएकी उपाध्यक्ष लाउरा म्याकलिस्टरले राजनीतिक दबाबका आधारमा खेलाडीमाथिको कारबाही परिवर्तन गरिनु फुटबलको विश्वसनीयतामाथि गम्भीर चुनौती हुने चेतावनी दिएकी छन्।













प्रतिक्रिया दिनुहोस्