संवैधानिक निकायमा नियुक्तिका लागि खुला प्रतिस्पर्धा आवश्यक : पद्मा अर्याल
काठमाडौं। , २५ असार । नेकपा (एमाले)की संसदीय दलकी उपनेता पद्मा अर्यालले निर्वाचन आयोगजस्ता संवैधानिक निकायमा नियुक्तिका लागि खुला प्रतिस्पर्धाको व्यवस्था गर्नुपर्ने बताएकी छन्।
प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको नियुक्तिका लागि संसदीय सुनुवाइसम्बन्धी छलफल गर्न बिहीबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा बोल्दै उनले संवैधानिक निकायमा नियुक्ति प्रक्रिया थप पारदर्शी र प्रतिस्पर्धात्मक बनाउनुपर्ने धारणा राखेकी हुन्।
उनले निर्वाचन आयोग तटस्थ भएर काम गर्ने भए पनि राजनीतिक प्रकृतिको संस्था भएकाले नियुक्ति प्रक्रिया विशेष ध्यान दिएर अघि बढाउनुपर्ने बताइन्।
अर्यालले वर्तमान सरकारले पनि विगतदेखिको अभ्यासलाई नै निरन्तरता दिएको उल्लेख गर्दै संवैधानिक निकायमा योग्य व्यक्तिको छनोटका लागि खुला प्रतिस्पर्धाको वातावरण बनाउनुपर्ने बताइन्।
“अहिलेको वातावरण हेर्दा खुला प्रतिस्पर्धा राम्रो हुन्छ। निर्वाचन आयोग तटस्थ भएर काम गर्ने राजनीतिक प्रकृतिको संस्था हो। त्यसैले यस्ता संस्थामा खुला प्रतिस्पर्धाको व्यवस्था गर्न पाएको भए अझ राम्रो हुन्थ्यो,” उनले भनिन्।
उनले संसदीय सुनुवाइ प्रक्रियालाई औपचारिकतामा सीमित नगरी पर्याप्त छलफलका आधारमा अघि बढाउनुपर्नेमा जोड दिइन्। संवैधानिक परिषद्ले सिफारिस गरेका व्यक्तिलाई समितिले केवल अनुमोदन गर्ने काम मात्रै गर्न नहुने उनको भनाइ थियो।
“औपचारिकता मात्रै पूरा गर्ने होइन, साँच्चै राम्रो बनाउने हो भने फराकिलो ढंगले छलफल गरौँ। योग्यभन्दा योग्य व्यक्ति आउने वातावरण बनाउनुपर्छ,” उनले भनिन्।
अर्यालले सुनुवाइ प्रक्रिया हतारमा टुंग्याउन नहुने भन्दै सबै पक्षसँग छलफल गरेर सहमतिका आधारमा निर्णय लिनुपर्ने बताइन्।













प्रतिक्रिया दिनुहोस्