ध्रुवे हात्तीलाई बेहोस बनाएर दाह्रा छोट्याइने, नयाँ रेडियो घाँटीपट्टी जडान गरिने

काठमाडौंं, २४ असार ।  हालसम्म २५ जनाको ज्यान लिइसकेको कुख्यात जङ्गली भाले हात्ती ‘ध्रुवे’लाई बेहोस बनाएर दाह्रा छोट्याउने तथा नयाँ रेडियो घाँटीपट्टी जडान गर्ने तयारी गरिएको छ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनका अनुसार ध्रुवेको निरन्तर निगरानी भइरहेको छ। भेटिनासाथ बेहोस बनाइने औषधिको प्रयोग गरी नियन्त्रणमा लिइने र त्यसपछि दाह्रा छोट्याउने तथा नयाँ रेडियो घाँटीपट्टी जडान गरिनेछ।

यसअघि जडान गरिएको रेडियो घाँटीपट्टी प्रभावकारी रूपमा सूचना दिन नसकेपछि नयाँ उपकरण जडान गर्न लागिएको हो। नयाँ उपकरण जडान भएपछि हात्ती बस्तीतर्फ प्रवेश गरेको जानकारी समयमै प्राप्त हुने र स्थानीयलाई तत्काल सचेत गराउन सहज हुने निकुञ्जको विश्वास छ।

गत शनिबार राति ध्रुवेले भरतपुर महानगरपालिका–२३ मा २१ वर्षीया आशिका बोटे र उनका चार वर्षीय छोरा भरत बोटेको ज्यान लिएको थियो। घटनापछि भागेको ध्रुवे निकुञ्जको सुखीभार क्षेत्रमा पुगेको थियो।

आक्रमणका क्रममा ध्रुवेलाई धपाउन आगो बाल्ने प्रयास गर्दा पीडित परिवारको घरमा आगलागी भई पूर्ण रूपमा नष्ट भएको थियो।

यसैबीच, ध्रुवेले सोमबार साँझ मेघौलीको गोलाघाटस्थित सामुदायिक वनको प्रवेशद्वार भत्काएर स्थानीय दुई घरमा पसेर अन्नसमेत नष्ट गरेको निकुञ्जले जनाएको छ।

निकुञ्जका अनुसार २०७४ सालमा नेपाली सेनाका एक सेनानीको ज्यान लिएपछि झन्डै नौ वर्षसम्म ध्रुवेबाट मानवीय क्षति भएको थिएन। तर, हालैको घटनासँगै ध्रुवेका कारण ज्यान गुमाउनेको संख्या २५ पुगेको छ।

मानिसमाथि लगातार आक्रमण गर्न थालेपछि २०६९ सालमा ध्रुवेलाई मार्ने निर्णयसमेत भएको थियो। त्यतिबेला माडी क्षेत्रमा एक महिनाभित्र चार जनाको ज्यान लिएपछि स्थानीय प्रशासनले यस्तो निर्णय गरेको थियो। यद्यपि, त्यसयता ध्रुवेलाई निगरानीमा राख्न पटक–पटक रेडियो घाँटीपट्टी जडान गर्ने र दाह्रा छोट्याउने काम हुँदै आएको छ।

निकुञ्जभित्र हाल ४५ देखि ५० वटा जङ्गली हात्ती रहेको अनुमान छ। रोनाल्डो, गोविन्दे र ध्रुवे निकुञ्जका परिचित भाले हात्ती हुन्। अन्य हात्तीबाट भने यस क्षेत्रमा उल्लेख्य मानवीय क्षति नभएको निकुञ्जले जनाएको छ।

निकुञ्ज, विपद् व्यवस्थापन समिति तथा सम्बन्धित निकायको सहकार्यमा हात्तीको आक्रमणका कारण आगलागी भएर नष्ट भएको घर पुनर्निर्माण गर्ने तयारीसमेत भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्