सुकुम्बासी व्यवस्थापनमा कमजोरी भए सुधार्छौं : गृहमन्त्री गुरुङ
काठमाडौ, २३ असार । गृहमन्त्री सुधन गुरुङले सुकुम्बासी व्यवस्थापनमा भएका कमी–कमजोरी सुधार गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
मंगलबार राष्ट्रिय सभामा बजेटमाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री गुरुङले सुकुम्बासीको समस्या समाधानमा सरकार गम्भीर रहेको बताएका हुन्।
नेपाली कम्युनिस्ट पार्टीकी सांसद रेणु चन्दले सुकुम्बासी विस्थापनपछि समस्यामा परेका महिलाका लागि गृहमन्त्रालयको ढोका खुला छ वा छैन भनेर प्रश्न गरेकी थिइन्।
जवाफमा गृहमन्त्री गुरुङले गृहमन्त्रालय सबै नागरिक, विशेषगरी महिलाका लागि खुला रहेको बताए।
“गृहमन्त्रालय अहिले पनि सबै नागरिकका लागि खुला छ। हरेक महिलाको आवाज सुनिएको छ र हामी आफैं पनि फिल्डमा पुगेर काम गरिरहेका छौं,” उनले भने।
महिलासम्बन्धी कुनै पनि विषयमा मन्त्रालय संवेदनशील रहेको उल्लेख गर्दै उनले सुकुम्बासी महिलामात्र नभई सबै महिलाका लागि गृहमन्त्रालयको ढोका खुला रहेको स्पष्ट पारे।
सुकुम्बासी व्यवस्थापनका क्रममा केही कमी–कमजोरी भएको भए त्यसलाई सुधार गर्दै अघि बढ्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे।
“सुकुम्बासीको विषयमा हामी गम्भीर छौं। केही कमी–कमजोरी भएका छन् भने तिनलाई सुधार्दै अगाडि बढ्नेछौं,” गृहमन्त्री गुरुङले भने।
उनले सुकुम्बासी व्यवस्थापनलाई व्यवस्थित र प्रभावकारी बनाउन सरकार आवश्यक सुधारका कदम चाल्न तयार रहेको पनि बताए।












प्रतिक्रिया दिनुहोस्