एमबाप्पेमाथि जातिवादी टिप्पणी गर्ने पाराग्वेकी सांसदको विरोध, फ्रान्सेली टोलीद्वारा कानुनी कारबाहीको तयारी
काठमाडौ, २३ असार । फ्रान्सेली फुटबल स्टार केलियन एमबाप्पेले पाराग्वेकी एक महिला सांसदले आफूलाई लक्षित गर्दै गरेको जातिवादी टिप्पणीको कडा आलोचना गरेका छन्।
पाराग्वेको लिबरल रेडिकल पार्टीकी सांसद सेलेस्टे अमरिल्लाले फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम १६ को खेलमा फ्रान्ससँग पाराग्वे पराजित भएपछि सामाजिक सञ्जालमार्फत एमबाप्पेको पुर्ख्यौली पृष्ठभूमि र शिक्षालाई लिएर विवादास्पद टिप्पणी गरेकी थिइन्।
त्यसको जवाफ दिँदै एमबाप्पेले सांसद अमरिल्लाको टिप्पणीलाई घृणित र जातिवादी भन्दै आफ्नो पदका लागि अयोग्य रहेको बताएका छन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, “तपाईंले पाराग्वेको प्रतिनिधित्व गर्नुहुन्न, जसले यो प्रतियोगिताभरि सम्मान र समर्पण देखाएको छ। तपाईंको मूर्खता र खुला जातिवादका कारण आज विश्वले पाराग्वेका खेलाडीहरूको मेहनतभन्दा तपाईंको देशको खराब छवि देखिरहेको छ।”
एमबाप्पेले जातिवाद फैलाउने व्यक्तिहरूलाई त्यसो गर्ने स्वतन्त्रता नदिने पनि बताएका छन्।
यस घटनापछि फ्रान्सेली फुटबल महासंघले सांसद अमरिल्लाको भनाइलाई अत्यन्तै घृणित र अस्वीकार्य भन्दै कानुनी प्रक्रिया अघि बढाउने जनाएको छ।
महासंघले खेलाडीहरूले फ्रान्सको प्रतिनिधित्व गर्ने भएकाले यस्तो टिप्पणी सम्पूर्ण देशमाथिको अपमान भएको जनाएको छ।
फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोँले पनि एमबाप्पेको समर्थन गर्दै जातिवादविरुद्ध उनको अडानको प्रशंसा गरेका छन्।
यसअघि पाराग्वेका पूर्वगोलरक्षक होसे लुइस चिलाभर्टले पनि फ्रान्सेली टोलीलाई ‘अफ्रिकी टोली’ भन्दै टिप्पणी गरेका थिए। उक्त भनाइको फ्रान्सेली फुटबल महासंघका अध्यक्ष फिलिप डियालोले आलोचना गर्दै चिलाभर्टलाई फुटबलको छवि बिगार्ने व्यक्ति बताएका थिए।
विवादका बीच एमबाप्पेले विश्वकपमा उत्कृष्ट प्रदर्शन जारी राखेका छन्। शनिबारको खेलमा निर्णायक पेनाल्टी प्रहार गर्दै उनले फ्रान्सलाई क्वार्टरफाइनलमा पुर्याएका छन्। अब फ्रान्सले क्वार्टरफाइनलमा मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ।
एमबाप्पेले जारी विश्वकपमा ७ गोल गर्दै लियोनल मेसी र अर्लिङ हालान्डसँगै सर्वाधिक गोलकर्ताको सूचीमा अग्रस्थानमा रहेका छन्।


प्रतिक्रिया दिनुहोस्