धान सिजनका लागि मल अभाव नहुने कृषि मन्त्री चौधरीको दाबी, ५ लाख १२ हजार मेट्रिक टन बिक्री
काठमाडौ, २३ असार । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले धान सिजनका लागि आवश्यक मल सहज रूपमा उपलब्ध हुने दाबी गरेकी छन्।
मंगलबार राष्ट्रियसभामा मन्त्रालयगत बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै मन्त्री चौधरीले हालसम्म ५ लाख १२ हजार मेट्रिक टन मल बिक्री वितरण भइसकेको जानकारी दिइन्।
उनका अनुसार असार १९ गतेसम्म ५ लाख ५८ हजार मेट्रिक टन मल आयात भएको छ। विगतको मौज्दातसमेत जोड्दा हालसम्म ५ लाख १२ हजार मेट्रिक टन मल बिक्री वितरण गरिएको उनले बताइन्।
मन्त्री चौधरीले हाल ९५ हजार मेट्रिक टन मल मौज्दात रहेको र सरकार–सरकारबीचको प्रक्रियामार्फत थप ५० हजार मेट्रिक टन मल चाँडै आपूर्ति हुने क्रममा रहेको जानकारी दिइन्।
मल आपूर्तिका लागि बजेट अभाव हुन नदिन अर्थ मन्त्रालयबाट आवश्यक परे थप बजेट उपलब्ध गराउने प्रतिबद्धता प्राप्त भएको पनि उनले बताइन्।
यसैगरी मन्त्री चौधरीले साना सिँचाइ संरचना निर्माण तथा विस्तारका लागि सरकारले बजेट विनियोजन गरेको जानकारी दिइन्। उनका अनुसार १५६ वटा स्थानीय तहमा साना सिँचाइ संरचना निर्माणका लागि करिब १६ करोड रुपैयाँ बजेट छुट्याइएको छ भने संघीय निकायमार्फत साना सिँचाइका लागि ४ करोड १७ लाख रुपैयाँ व्यवस्था गरिएको छ।
उनले सिँचाइ मन्त्रालयमार्फत निर्माण भइरहेका ठूला प्रकृतिका सिँचाइ आयोजनाबाट आगामी दिनमा मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका खेतीयोग्य जमिनमा सहज सिँचाइ सुविधा पुग्ने अपेक्षा गरिएको बताइन्।
मन्त्री चौधरीले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण र सहअस्तित्व कायम गर्न विभिन्न प्रत्यक्ष परिणाममुखी कार्यक्रम सञ्चालन गरिने पनि जानकारी दिइन्।












प्रतिक्रिया दिनुहोस्