पहिरोका कारण जाजरकोट–डोल्पा सडकसहित तीन प्रमुख सडकखण्ड पूर्ण रूपमा बन्द
काठमाडौ, २३ असार । अविरल वर्षासँगै आएको पहिरोका कारण जाजरकोट–डोल्पा सडक, रुकुम–घोराही सहिद मार्ग र भेरी करिडोर सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन्।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार वर्षाका कारण जाजरकोटको नलगाड नगरपालिका–८ मलुवास्थित जाजरकोट–डोल्पा सडकखण्ड पहिरोले पूर्ण रूपमा बन्द भएको हो।
त्यस्तै, असार २२ गते रोल्पाको माडी गाउँपालिका–६ हार्निङमा आएको पहिरोका कारण रुकुम–घोराही सहिद मार्ग पनि अवरुद्ध भएको प्रहरीले जनाएको छ।
यसैगरी, असार १७ गते रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोलामा आएको बाढीका कारण अवरुद्ध भएको भेरी करिडोर सडक अझै सञ्चालनमा आउन सकेको छैन।
प्रहरीका अनुसार वर्षाका कारण अवरुद्ध भएका केही मुख्य सडकखण्ड भने आंशिक तथा एकतर्फी रूपमा सञ्चालनमा आएका छन्। केही सडक खुलाउने काम भइरहेको प्रहरी नायब महानिरीक्षक काफ्लेले जानकारी दिए।
पूर्ण रूपमा अवरुद्ध भएका सडक सञ्चालनमा नआएसम्म यात्रा नगर्न र आंशिक रूपमा सञ्चालनमा आएका सडकमा पनि सावधानी अपनाएर मात्र यात्रा गर्न नेपाल प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ।












प्रतिक्रिया दिनुहोस्