खरिपाटी होल्डिङ केन्द्रमा खाना नपाएपछि सुकुमवासीको विरोध

काठमाडौ, २३ असार । भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा रहेको होल्डिङ केन्द्रमा बसिरहेका सुकुमवासीले खाना उपलब्ध नगराएको भन्दै विरोध प्रदर्शन गरेका छन्।

होल्डिङ केन्द्रमा बसोबास गरिरहेका सुकुमवासीका अनुसार सोमबार बेलुकादेखि खाना वितरण रोकिएको छ। खाना नपाएपछि रातभर भोकै बस्नुपरेको र बाध्य भएर मंगलबार बिहानदेखि विरोधमा उत्रिनुपरेको उनीहरूको भनाइ छ।

संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाका उपाध्यक्ष पवन गुरुङले सोमबार बिहानसम्म खाना पाएको भए पनि साँझदेखि वितरण बन्द भएको जानकारी दिएका छन्। उनले हाल बसोबासको वैकल्पिक व्यवस्था खोजिरहेको बताए।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले असार २४ गतेभित्र होल्डिङ केन्द्र खाली गर्न निर्देशन दिएको छ। प्रभावित परिवारले सरकारले आफैं होल्डिङ केन्द्रमा राखेर तोकिएको अवधिसम्म समेत आधारभूत आवश्यकता पूरा नगरेको गुनासो गरेका छन्।

उनीहरूका अनुसार खाना अभावका कारण विशेषगरी बिरामी, ज्येष्ठ नागरिक र बालबालिका बढी प्रभावित भएका छन्। नियमित औषधि सेवन गर्नुपर्ने बिरामीले समेत खाना नपाउँदा औषधि खान नसकेको उनीहरूको भनाइ छ।

सरकारले गत वैशाखमा बागमती र मनोहरा नदी किनारका बस्ती हटाएर प्रभावित परिवारलाई विभिन्न होल्डिङ केन्द्रमा राखेको थियो। खरिपाटीस्थित होल्डिङ केन्द्रमा हाल ९९ परिवारका २०७ जना बसोबास गरिरहेका छन्।

सुकुमवासीले विरोध प्रदर्शन सुरु गरेपछि अवस्था नियन्त्रणमा राख्न होल्डिङ केन्द्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्