राधास्वामी होल्डिङ केन्द्रका प्रभावित परिवारको माग : राहत होइन, सम्मानजनक पुनःस्थापना गर
काठमाडौ, २३ असार । कीर्तिपुरस्थित राधास्वामी क्षेत्रमा रहेको होल्डिङ केन्द्रमा बसोबास गरिरहेका भूमिहीन दलित, भूमिहीन सुकुमबासी तथा अव्यवस्थित बसोबासी परिवारले सरकारसँग राहतभन्दा सम्मानजनक पुनःस्थापनाको व्यवस्था गर्न माग गरेका छन्।
प्रेस विज्ञप्ति जारी गर्दै उनीहरूले बागमती सभ्यता एकीकृत विकास समितिले राहतसम्बन्धी निवेदन दिन जारी गरेको सूचनाप्रति आफ्नो धारणा सार्वजनिक गरेका हुन्। उनीहरूले राहतका लागि निवेदन दिनु समस्याको दीर्घकालीन समाधान नभएको बताएका छन्।
विज्ञप्तिअनुसार होल्डिङ केन्द्रमा रहेका करिब आधा परिवारले राहतसम्बन्धी निवेदन बुझाइसकेका छन् भने बाँकी परिवारले पनि निवेदन दिने क्रम जारी छ। तर आफ्नो मुख्य आवश्यकता राहत नभई राज्यले उचित र सम्मानजनक वैकल्पिक आवासको व्यवस्था गर्नु रहेको उनीहरूको भनाइ छ।
प्रभावित परिवारले वैकल्पिक आवासको सुनिश्चितता नगरी घर भत्काएर केही रकम उपलब्ध गराउनु समस्याको समाधान नहुने उल्लेख गरेका छन्। आवास नागरिकको मौलिक आवश्यकता भएकाले विस्थापित नागरिकको उचित पुनःस्थापना गर्नु सरकारको संवैधानिक, कानुनी र नैतिक दायित्व भएको उनीहरूको जिकिर छ।
विज्ञप्तिमा राहतका लागि निवेदन नदिएको आधारमा कुनै पनि प्रभावित परिवारलाई धम्की दिने, दबाब सिर्जना गर्ने, अधिकारबाट वञ्चित गर्ने वा भविष्यमा कुनै सेवासुविधाबाट रोक्ने कार्य स्वीकार्य नहुने चेतावनी पनि दिइएको छ।
प्रभावित परिवारले सरकारसमक्ष तीन माग अघि सारेका छन्। उनीहरूले राहतको सट्टा सम्मानजनक वैकल्पिक आवासको व्यवस्था गर्न, सबै प्रभावित परिवारसँग वार्ता गरी दीर्घकालीन पुनःस्थापनाको योजना कार्यान्वयन गर्न तथा राहतसम्बन्धी निवेदनका आधारमा कुनै पनि नागरिकमाथि विभेद वा दबाब नगर्न आग्रह गरेका छन्।
साथै, अधिकार, सम्मान र न्यायपूर्ण पुनःस्थापनाका लागि शान्तिपूर्ण तथा लोकतान्त्रिक ढंगले संघर्ष जारी राख्ने र दिगो समाधान नहुँदासम्म होल्डिङ केन्द्रमै बसोबास गरिरहने प्रतिबद्धता पनि प्रभावित परिवारले व्यक्त गरेका छन्।













प्रतिक्रिया दिनुहोस्