पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताले असारभित्रै बचत फिर्ता पाउने
काठमाडौ, २३ असार । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच समस्याग्रस्त सहकारी संस्थाका साना बचतकर्तालाई यही असार मसान्तभित्र बचत रकम फिर्ता गर्ने तयारी गरेको छ।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको उपस्थितिमा केही दिनअघि भएको छलफलले सिभिल बचत तथा ऋण सहकारी, दर्शन बचत तथा ऋण सहकारी, सुमेरु बचत तथा ऋण सहकारी, लालीगुँरास बचत तथा ऋण सहकारी र नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने निर्णय गरेको थियो।
समिति सदस्य रामेश्वर ढकालका अनुसार असार २७ गतेदेखि मसान्तसम्म बचतकर्तालाई रकम फिर्ता गर्ने कार्यतालिका तय गरिएको छ। हाल बचतकर्ताको विवरण प्रमाणित गर्ने काम भइरहेको उनले बताए।
बचत फिर्ताका लागि हालसम्म करिब नौ करोड रुपैयाँ व्यवस्था भइसकेको समितिले जनाएको छ। सम्बन्धित सहकारीका साना बचतकर्तालाई आवश्यक कागजातसहित अनामनगरस्थित समितिको कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ।
समितिले सिभिल, सुमेरु, लालीगुँरास र नेशनल नमोबुद्ध सहकारीका बचतकर्तालाई एक लाख रुपैयाँसम्म तथा दर्शन बचत तथा ऋण सहकारीका बचतकर्तालाई १० हजार रुपैयाँसम्म बचत रकम फिर्ता गर्ने तयारी गरेको छ। यसबाट पाँच सहकारीका करिब तीन हजार साना बचतकर्ता लाभान्वित हुने समितिको विश्वास छ।
यसअघि समितिले जेठ २२ गते समस्याग्रस्त घोषित ती सहकारीका ११४ जना ठूला ऋणीको नामावली सार्वजनिक गर्दै सहकारीबाट लिएको ऋण तत्काल चुक्ता गर्न आग्रह गरेको थियो।












प्रतिक्रिया दिनुहोस्