नेइमारले दिए अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको संकेत
काठमाडौंं, २२ असार । ब्राजिलका स्टार फरवार्ड नेइमारले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने संकेत गरेका छन्। विश्वकपको अन्तिम १६ चरणमा नर्वेसँग पराजित भएपछि उनले राष्ट्रिय टोलीमा आफ्नो यात्रा अन्त्य हुन लागेको संकेत दिएका हुन्।
न्यू जर्सीमा सम्पन्न खेलपछि ब्राजिलियन टेलिभिजनसँग प्रतिक्रिया दिँदै ३४ वर्षीय नेइमारले आफूले राष्ट्रिय टोलीका लागि सक्दो प्रयास गरेको बताए।
उनले भने, ‘मैले प्रयास गरेँ, धेरै प्रयास गरेँ। अब सकियो। मैले यहीँबाट सुरु गरेको थिएँ, यहीँ आएर अन्त्य भयो।’
नेइमारले यही मैदानबाट सन् २०१० मा अमेरिकाविरुद्धको मैत्रीपूर्ण खेलमार्फत ब्राजिलको राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए। सोही मैदानमा सम्भावित अन्तिम अन्तर्राष्ट्रिय खेल खेल्नुपर्दा उनी निकै भावुक देखिएका थिए।
नर्वेविरुद्ध इन्जुरी समयमा पेनाल्टीमार्फत गोल गरे पनि ब्राजिललाई हारबाट जोगाउन त्यो पर्याप्त भएन। २–१ को हारसँगै ब्राजिल विश्वकपबाट बाहिरिएको हो।
पिँडुलाको चोटका कारण प्रतियोगिताका सुरुआती दुई खेल गुमाएका नेइमारले यस विश्वकपमा जम्मा ३८ मिनेट मात्र मैदानमा बिताए। उनले समूह चरणको एक खेल र अन्तिम १६ को खेलमा मात्र अवसर पाए भने अर्को खेलमा बेन्चमै सीमित रहे।
यदि उनले औपचारिक रूपमा अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास घोषणा गरेमा ब्राजिलका लागि उनको यात्रा १३० खेल, ८० गोल र ५८ गोलमा योगदानसहित समाप्त हुनेछ।
क्लब फुटबलमा धेरै उपाधि जितेका नेइमारले ब्राजिलको सिनियर टोलीबाट भने सन् २०१३ को कन्फेडेरेसन्स कपबाहेक अर्को ठूलो अन्तर्राष्ट्रिय उपाधि जित्न सकेनन्।
यस हारसँगै ब्राजिलको विश्वकप उपाधि खडेरी पनि थप लम्बिएको छ। ब्राजिलले पछिल्लोपटक सन् २००२ मा विश्वकप जितेको थियो।












प्रतिक्रिया दिनुहोस्