भूकम्पले भत्किएको भवनमा २० घण्टा थुनिएका बुवा र दुई छोराको चमत्कारिक उद्धार
काठमाडौंं, २२ असार । भेनेजुएलामा गएको शक्तिशाली भूकम्पपछि एउटा परिवारको चमत्कारिक उद्धारको घटना सार्वजनिक भएको छ। भत्किएको भवनको भग्नावशेषमा २० घण्टाभन्दा बढी समय थुनिएका एक बुवा र उनका दुई साना छोरालाई जेठो छोराको नेतृत्वमा गरिएको उद्धार अभियानबाट सकुशल बाहिर निकालिएको हो।
जुन २४ को साँझ समुद्री तटीय क्षेत्र काराबालेडामा ७.२ तीव्रताको भूकम्प गएको थियो। त्यसलगत्तै आएको अर्को शक्तिशाली धक्काले ११ तले आवासीय भवन पूर्ण रूपमा भत्किएको थियो।
भवनको दोस्रो तलामा रहेका ४६ वर्षीय होजे गार्सिया आफ्ना दुई साना छोरासहित भग्नावशेषमुनि पुरिएका थिए। उनीहरू सामान्य घाइते भए पनि जीवित रहन सफल भएका थिए।
घटनाको जानकारी पाएपछि जेठो छोरा जेसस गार्सिया तत्काल उद्धारस्थल पुगे। पूर्व अग्नि नियन्त्रक रहेका उनले आफ्ना पूर्व सहकर्मीको सहयोगमा उद्धार अभियान थालेका थिए। आवश्यक उपकरणसहित प्रहरी र उद्धार टोली पुगेपछि उनीहरूले बुवा र दुई भाइलाई भूकम्प गएको करिब २० घण्टापछि सकुशल बाहिर निकाले।
उद्धारपछि जेससले आफ्ना भाइहरूलाई अंगालो हाल्दै भावुक बनेका थिए। होजे गार्सियाले आफू र आफ्ना छोराले दोस्रो जीवन पाएको भन्दै उद्धारमा खटिएका सबैप्रति कृतज्ञता व्यक्त गरेका छन्।
यद्यपि होजेकी पत्नी अझै भग्नावशेषमुनि बेपत्ता छिन्। घटना भएको ११ दिन बितिसक्दा पनि उनी जीवितै भेटिने आशा परिवारले त्यागेको छैन।
भूकम्पका कारण हालसम्म तीन हजार तीन सयभन्दा बढी जनाको मृत्यु पुष्टि भएको छ भने मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ। हजारौं मानिस बेपत्ता छन् र सयौं भवन पूर्ण रूपमा ध्वस्त भएका छन्।
सरकारी तथ्याङ्कअनुसार सयौं भवनमा क्षति पुगेको छ भने ठूलो सङ्ख्यामा परिवार विस्थापित भएका छन्। उद्धार तथा राहत कार्य जारी रहे पनि प्रभावित क्षेत्रमा अझै चुनौती कायम रहेको जनाइएको छ।
विज्ञहरूका अनुसार यो विपत्ति पछिल्ला दुई दशकयताकै भेनेजुएलाको सबैभन्दा विनाशकारी प्राकृतिक प्रकोपमध्ये एक हो। हजारौं परिवार घरविहीन भएका छन् भने प्रभावित क्षेत्रमा पुनःस्थापना र राहतको काम अझै जारी छ।












प्रतिक्रिया दिनुहोस्