नौबिसे–मलेखु सडक विस्तारले लियो गति, २७ किलोमिटर निर्माण सम्पन्न
काठमाडौंं, २२ असार । मुग्लिङ सडक विस्तार आयोजनाअन्तर्गत पूर्वी खण्डको नौबिसे–मलेखु सडक निर्माण कार्यले पछिल्लो समय तीव्रता पाएको छ। बिटुमिन आपूर्ति सहज भएसँगै सडक निर्माणले पुनः गति लिएको आयोजनाले जनाएको छ।
कुल ४३ किलोमिटर लामो सडकखण्डमध्ये हालसम्म २५ किलोमिटर कालोपत्रे तथा दुई किलोमिटर ढलान सम्पन्न भइसकेको छ। यससँगै कुल २७ किलोमिटर सडक निर्माण सम्पन्न भएको छ।
नागढुंगा–मुग्लिङ सडक योजना (पूर्वी खण्ड) का योजना प्रमुख केशव ओझाका अनुसार आयोजनाको समग्र भौतिक प्रगति ६० प्रतिशत पुगेको छ। चालु आर्थिक वर्षमा ७५ प्रतिशत प्रगति गर्ने लक्ष्य रहे पनि अन्तर्राष्ट्रिय बजारमा बिटुमिन अभावका कारण निर्माण कार्य केही समय प्रभावित भएको उनले बताए।
उनका अनुसार मध्यपूर्वमा उत्पन्न तनावका कारण बिटुमिन आपूर्तिमा समस्या देखिए पनि अहिले आपूर्ति सहज बनेपछि निर्माण कार्यले गति लिएको छ।
पहिलो प्याकेजअन्तर्गत पर्ने नागढुंगा–नौबिसे सडकखण्डको भौतिक प्रगति ८८ प्रतिशत पुगेको छ। दोस्रो प्याकेजअन्तर्गत नौबिसे–मलेखु सडकखण्डमा हालसम्म २५ किलोमिटर कालोपत्रे सम्पन्न भएको छ। त्यसमध्ये २ दशमलव ५ किलोमिटर दुई लेनमा तथा बाँकी २२ दशमलव ५ किलोमिटर पूर्ण चौडाइमा कालोपत्रे गरिएको छ।
निर्माण कम्पनीका परियोजना व्यवस्थापक ज्ञानेन्द्र घिमिरेका अनुसार मौसमले साथ दिए आगामी केही दिनभित्र थप ६ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य रहेको छ। बिटुमिन आपूर्ति सहज भएपछि नौबिसे–मलेखु सडकखण्डमा मात्र तीन हजार तीन सय मिटर थप कालोपत्रे गरिएको उनले जानकारी दिए।
हाल निर्माण कम्पनीले दैनिक चार सयदेखि पाँच सय मिटरसम्म सडक कालोपत्रे गर्ने क्षमताका साथ काम गरिरहेको जनाएको छ। प्रतिकूल मौसमका कारण काममा केही चुनौती रहे पनि निर्माण कार्य निरन्तर अघि बढाइएको छ।
आयोजनाले वर्षात् सुरु हुनुअघि उत्खनन गरिएका पुराना सडकखण्ड पुनः कालोपत्रे गरी सवारी आवागमन सहज बनाउने कामलाई प्राथमिकतामा राखेको छ। साथै चालु आर्थिक वर्षको अन्त्यसम्म ६५ प्रतिशत भौतिक प्रगति हासिल गर्ने संशोधित लक्ष्य लिइएको जनाएको छ।












प्रतिक्रिया दिनुहोस्