ओपेक प्लसद्वारा अगस्टदेखि कच्चा तेल उत्पादन बढाइने, ऊर्जा बजारमा सुधारको संकेत

काठमाडौंं, २२ असार । अमेरिका, इजरायल र इरानबीचको युद्धपछि अन्तर्राष्ट्रिय ऊर्जा बजारमा सुधारका संकेत देखिन थालेसँगै ओपेक प्लसले कच्चा तेल उत्पादन बढाउने निर्णय गरेको छ।

विश्व बजारको अवस्था र आगामी परिदृश्यबारे समीक्षा गर्न भर्चुअल माध्यमबाट बसेको बैठकपछि ओपेक प्लसले आगामी अगस्ट महिनादेखि दैनिक एक लाख ८८ हजार ब्यारेल कच्चा तेल उत्पादन थप्ने घोषणा गरेको हो।

यस निर्णयअनुसार साउदी अरब, रुस, इराक, कुवेत, कजाकिस्तान, अल्जेरिया र ओमानले उत्पादन वृद्धि गर्नेछन्। यी राष्ट्रले पछिल्ला पाँच महिनादेखि प्रत्येक महिना उत्पादन क्रमशः बढाउँदै आएका छन्। यो कदम सन् २०२३ मा लागू गरिएको उत्पादन कटौतीको निर्णयलाई चरणबद्ध रूपमा हटाउने योजनाको निरन्तरता हो।

ओपेक प्लसले जारी गरेको विज्ञप्तिमा सदस्य राष्ट्रहरूले अन्तर्राष्ट्रिय बजारको अवस्था निरन्तर अनुगमन गर्दै आवश्यकताअनुसार उत्पादन बढाउने, यथावत् राख्ने वा घटाउने विषयमा लचकता अपनाउने उल्लेख गरिएको छ। यस विषयमा पुनः समीक्षा गर्न आगामी अगस्ट २ मा सदस्य राष्ट्रहरूको बैठक बस्ने तय भएको छ।

युद्धका कारण केही समय उच्च बनेको कच्चा तेलको मूल्य पछिल्ला दिनमा पुनः घट्न थालेको छ। इरानसँगको तनाव कम हुने र स्ट्रेट अफ होर्मुज हुँदै हुने तेल ढुवानी क्रमशः सहज बन्दै गएपछि अन्तर्राष्ट्रिय बजारमा मूल्य स्थिर हुन थालेको हो।

हाल सेप्टेम्बर आपूर्तिका लागि ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल ७२ अमेरिकी डलर कायम रहेको छ, जुन युद्ध सुरु हुनुअघिको मूल्यभन्दा पनि केही कम हो।

बजार विश्लेषकहरूका अनुसार स्ट्रेट अफ होर्मुजमा ढुवानी सहज बन्दै जानु, इरानबाट पुनः तेल निर्यात बढ्नु, चीनमा माग घट्नु तथा अमेरिका र रुसबाट निर्यात बढ्नुका कारण विश्व बजारमा तेलको आपूर्ति बढ्दै गएको छ। यही कारण आगामी दिनमा पनि कच्चा तेलको मूल्यमा थप दबाब पर्ने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्