सरकारद्वारा ५१ शहरी विकास आयोजना रुग्ण घोषणा, कार्यान्वयन सुधार्न डिजिटल प्रणाली लागू गरिने
काठमाडौं, २१ असार ।सरकारले साविकको शहरी विकास मन्त्रालयअन्तर्गत सञ्चालनमा रहेका ५१ वटा आयोजनालाई रुग्ण आयोजनाका रूपमा पहिचान गरेको छ।
पूर्वाधार विकास मन्त्रालयले सार्वजनिक गरेको प्रगति विवरणअनुसार रुग्ण आयोजना, ठेक्का तोडिएका परियोजना तथा प्रतिफलविहीन लगानीको समस्या समाधानका लागि अध्ययन गरी सिफारिससहितको प्रतिवेदन तयार पारिएको छ। उक्त प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित विभाग तथा कार्यालयमा पठाइएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार रुग्ण आयोजनासम्बन्धी प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा समेत पठाइएको छ। साथै, ५१ वटै आयोजनाको हालसम्मको प्रगति विवरण उपलब्ध गराउन सम्बन्धित निकायलाई पत्राचार गरिएको छ।
ठेक्का सम्झौतापछिको व्यवस्थापनसम्बन्धी कार्यविधि परिमार्जनको मस्यौदा पनि मन्त्रालयमा पेश भइसकेको छ। रुग्ण आयोजना तथा प्रतिफलविहीन लगानीको औचित्य र निरन्तरताबारे सिफारिस गर्न गठित कार्यदलले प्रतिवेदन तयार पार्ने काम गरिरहेको मन्त्रालयले जनाएको छ।
यसैबीच, आयोजना छनोटदेखि भुक्तानीसम्मको सम्पूर्ण प्रक्रिया डिजिटल प्रणालीमार्फत अनुगमन गर्न ‘करार अनुगमन प्रणाली’ लागू गर्ने तयारी गरिएको छ। मन्त्रालयका अनुसार यससम्बन्धी अभिमुखीकरण सम्पन्न भइसकेको छ।
मन्त्रालय मातहतका निकायका एक हजार १७३ ठेक्काको विवरण प्रणालीमा अद्यावधिक गरिसकिएको छ भने बाँकी ठेक्काको सम्झौता, कार्यान्वयन प्रगति, भुक्तानी, भेरिएसन आदेश र माइलस्टोनसम्बन्धी विवरण अद्यावधिक गर्ने काम जारी रहेको छ।
भेरिएसन आदेशलाई डिजिटल प्रणालीमार्फत व्यवस्थापन गर्ने तथा भुक्तानीलाई कार्यसम्पादन र माइलस्टोनसँग आबद्ध गर्ने प्रक्रिया पनि अघि बढाइएको मन्त्रालयले जनाएको छ।












प्रतिक्रिया दिनुहोस्