नार्कका दुई बेपत्ता कर्मचारी सेवाबाट हटाइए, मन्त्रालयभर कारबाही अघि बढाइने
काठमाडौं, २१ असार । कृषि, वन तथा वातावरण मन्त्री तथा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) की अध्यक्ष गीता चौधरीले लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका दुई कर्मचारीलाई सेवाबाट हटाउने निर्णय गर्दै बेपत्ता कर्मचारीमाथिको कारबाही सुरु गरेकी छन्।
मन्त्री चौधरीले सरकारले सुशासन र प्रभावकारी सेवा प्रवाहलाई प्राथमिकतामा राखेकाले कार्यालयमा उपस्थित नभई दरबन्दी मात्र ओगटेर बसेका कर्मचारीविरुद्ध आवश्यक कारबाही गरिएको बताइन्। उनका अनुसार नार्कबाट सुरु गरिएको यो अभियान मन्त्रालयअन्तर्गतका विभाग, केन्द्र तथा अन्य निकायमा पनि विस्तार गरिनेछ।
कर्मचारी प्रशासन विनियमावली, २०६२ अनुसार सम्बन्धित कर्मचारीलाई अनुपस्थित भएको मितिदेखि नै लागू हुने गरी सेवाबाट हटाइएको हो।
परिषद्ले सम्बन्धित कर्मचारीको स्थायी ठेगानामा पत्राचार गर्नुका साथै राष्ट्रिय दैनिकमार्फत सात दिनभित्र सम्पर्कमा आउन सूचना प्रकाशित गरेको थियो। तर तोकिएको अवधिमा पनि सम्पर्कमा नआएपछि कार्यकारी समितिको निर्णयअनुसार उनीहरूलाई सेवाबाट हटाइएको मन्त्री चौधरीले जानकारी दिइन्।
सेवाबाट हटाइएका कर्मचारीमा कृषि अनुसन्धान निर्देशनालय, तरहरा, सुनसरीमा कार्यरत प्राविधिक अधिकृत छैटौँ पार्वती जोशी र राष्ट्रिय जैविक प्रविधि अनुसन्धान केन्द्र, खुमलटार, ललितपुरमा कार्यरत वैज्ञानिक एस–१ नमिता भट्टराई रहेका छन्।












प्रतिक्रिया दिनुहोस्