एम्बाप्पेको निर्णायक गोलमा पाराग्वेलाई हराउँदै फ्रान्स विश्वकपको क्वार्टरफाइनलमा
काठमाडौं, २१ असार । कप्तान केलियन एम्बाप्पेको दोस्रो हाफमा पेनाल्टीमार्फत गरेको निर्णायक गोलमा फ्रान्सले पाराग्वेलाई १–० ले पराजित गर्दै सन् २०२६ फिफा विश्वकपको क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ। फ्रान्स विश्वकपको अन्तिम आठमा पुगेको यो १०औँ अवसर हो।
यसअघि लगातार फराकिलो अन्तरका जित निकाल्दै आएको फ्रान्सलाई पाराग्वेको बलियो रक्षापंक्तिले कडा चुनौती दिएको थियो। खेलको ७० मिनेटसम्म गोलरहित रहेको प्रतिस्पर्धामा डेजिरे डोउमाथि डिबक्सभित्र फाउल भएपछि फ्रान्सले पेनाल्टी पाएको थियो। भिडियो सहायक रेफ्री (भिएआर) को समीक्षा पछि दिइएको पेनाल्टीलाई एम्बाप्पेले गोलमा परिणत गर्दै टोलीलाई अग्रता दिलाए।
गोलपछि फ्रान्सले रक्षात्मक रणनीति अपनाउँदै पाराग्वेलाई बराबरी गर्ने अवसर नदिँदा १–० को नतिजा कायम रह्यो।
फ्रान्सका डिफेन्डर विलियम सालिबाले टोलीले यसअघि धेरै गोल गर्दै आएको भए पनि कठिन खेलमा एक गोलको जित पनि उत्तिकै महत्वपूर्ण हुने बताए।
पाराग्वेले सुरुदेखि नै आक्रामक र शारीरिक खेल प्रस्तुत गरेको थियो। गोलरक्षक ओर्लान्डो गिलले उत्कृष्ट बचाउ गर्दै फ्रान्सका धेरै अवसर विफल पारेपछि उनी ‘प्लेयर अफ द म्याच’ घोषित भए।
खेलमा पाराग्वेका खेलाडीहरूले पटक–पटक कडा ट्याकल र खेलभावना विपरीतका गतिविधि गरे पनि रेफ्री इल्गिज तान्तासेभले कुनै खेलाडीलाई पहेँलो कार्ड नदेखाएको भन्दै आलोचना भएको छ।
एम्बाप्पेले विश्वकपमा आफ्नो १९औँ गोल पूरा गरेका छन्। यस प्रतियोगितामा उनले ७ गोल गर्दै सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा रहेका छन्।
अब फ्रान्सले जुलाई ९ मा बोस्टनमा हुने क्वार्टरफाइनलमा मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ। मोरक्को सन् २०२२ विश्वकपको सेमिफाइनलमा फ्रान्ससँग बेहोरेको हारको बदला लिने लक्ष्यमा हुनेछ।












प्रतिक्रिया दिनुहोस्