मोरक्को ३–० ले क्यानडामाथि विजयी, क्वार्टरफाइनलमा प्रवेश

काठमाडौं, २१ असार । मोरक्कोले फिफा विश्वकप २०२६ को प्रि–क्वार्टरफाइनलमा क्यानडालाई ३–० ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ। अमेरिकाको ह्युस्टन स्टेडियममा भएको खेलमा मोरक्कोले उत्कृष्ट प्रदर्शन गर्दै विश्व फुटबलमा आफ्नो दबदबा कायम राखेको हो।

यस जितसँगै मोरक्को दुई फरक विश्वकप संस्करण (२०२२ र २०२६) मा क्वार्टरफाइनल पुग्ने पहिलो अफ्रिकी राष्ट्र बनेको छ। सन् २०२२ मा सेमिफाइनलसम्म पुगेको मोरक्कोले यसपटक पनि उत्कृष्ट लयलाई निरन्तरता दिएको छ।

खेलमा रियल मड्रिडका स्टार ब्राहिम डियाज निर्णायक सावित भए। २०२४ देखि मोरक्कोको राष्ट्रिय टोलीबाट खेल्न थालेका डियाजले दुई उत्कृष्ट असिस्ट प्रदान गर्दै टोलीको जितमा महत्वपूर्ण भूमिका खेले। उनले अजदिन ओनाही र सुफियान राहिमीलाई गोलको अवसर सिर्जना गरिदिए।

डियाजले हालसम्म यस विश्वकपमा ५ खेलमा ४ असिस्ट पूरा गरेका छन्। खेलपछि उनले टोलीको मानसिक दृढता र एकताको प्रशंसा गर्दै कठिन परिस्थितिमा पनि जित निकाल्न सक्नु ठूलो उपलब्धि भएको बताए।

मोरक्कोले यसअघि २०२२ विश्वकपमा बलियो रक्षात्मक खेलका कारण चर्चा कमाएको थियो भने यसपटक ब्राहिम डियाजको आगमनसँगै आक्रमण पनि अझ सशक्त बनेको देखिएको छ।

प्रतिक्रिया दिनुहोस्