दैलेख जिल्ला पूर्ण खोप सुनिश्चितता भएको जिल्ला घोषणा

काठमाडौं, २१ असार । दैलेख जिल्ला पूर्ण खोप सुनिश्चितता, निरन्तरता तथा दिगोपना भएको जिल्ला घोषणा गरिएको छ। आइतबार आयोजित एक औपचारिक कार्यक्रममा जिल्ला स्तरका सरोकारवाला निकाय र कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्रीको उपस्थितिमा उक्त घोषणा गरिएको हो।

दैलेख जिल्ला लाई पूर्ण खोप सुनिश्चितता प्राप्त जिल्ला घोषणा गर्दै स्वास्थ्य सेवामा निरन्तरता र दिगोपना कायम गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

कार्यक्रममा बोल्दै सामाजिक विकासमन्त्रीले खोप कार्यक्रमको दिगोपनाका लागि सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै आगामी दिनमा स्वास्थ्य सेवा थप सुदृढ बनाइने बताए। उनले निकट भविष्यमा दैलेख अस्पतालबाट मृगौला डायलासिस सेवा सुरु गर्ने तयारी भइरहेको जानकारी दिए।

मन्त्रीका अनुसार जिल्लामा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न अस्पतालको स्तरोन्नति भइरहेको छ। तर निर्माण व्यवसायीको ढिलाइका कारण केही पूर्वाधार विकास अपेक्षित गतिमा अघि बढ्न नसकेको पनि उनले स्वीकार गरे।

उनले आगामी दिनमा भौतिक संरचना निर्माणलाई तीव्रता दिँदै सेवा प्रवाहलाई अझ व्यवस्थित बनाइने प्रतिबद्धता दोहोर्याए।

प्रतिक्रिया दिनुहोस्