प्रहरी प्रधान कार्यालयद्वारा लामो समयदेखि खटिएका पीएसओ फिर्ता, भीआईपी सुरक्षामा पुनः संरचना
काठमाडौं, २१ असार । विशिष्ट व्यक्तिहरूको सुरक्षामा लामो समयदेखि खटाइएका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) हरूलाई प्रहरी प्रधान कार्यालयले फिर्ता बोलाएको छ।
प्रहरी प्रधान कार्यालयले असार १८ गते प्रदेश प्रहरी कार्यालय तथा उपत्यका प्रहरी कार्यालयलाई एक घण्टे सर्कुलर जारी गर्दै विभिन्न दरबन्दीबाट भीआईपी सुरक्षामा खटिएकाहरूलाई सम्बन्धित दरबन्दीमा फिर्ता गर्न निर्देशन दिएको हो।
सर्कुलरअनुसार विशिष्ट व्यक्तिहरूको सुरक्षामा खटिएका मात्र नभई चालकहरूलाई समेत फिर्ता बोलाइएको छ।
प्रहरीका सहप्रवक्ता एसएसपी दीप शम्शेर जबराका अनुसार लामो समय एउटै भीआईपीसँग खटिएकाहरूलाई चरणबद्ध रूपमा फिर्ता गरिँदैछ। उनले भने, “एउटै भीआईपीसँग लामो समय खटिएकालाई फिर्ता गर्ने निर्णयअनुसार प्रक्रिया अघि बढिरहेको छ।”
उनका अनुसार हाल केही प्रहरी अधिकारीहरू भ्रमण तथा बिदामा रहेकाले सबै तत्काल फर्किन नसके पनि क्रमशः फिर्ता हुने प्रक्रियामा छन्।
सर्कुलरअनुसार कार्य विभागअन्तर्गतको अंगरक्षक गणबाहेक अन्य दरबन्दीमा रहेका प्रहरीलाई सम्बन्धित स्थानमा फिर्ता बोलाइएको छ। उनीहरूको सट्टामा विशिष्ट व्यक्तिहरूको सुरक्षाका लागि विशेष तालिम प्राप्त जनशक्ति परिचालन गरिने प्रहरी स्रोतले जनाएको छ।
त्यसैगरी पूर्व तथा बहालवाला विशिष्ट व्यक्तिहरूका चालकलाई समेत फिर्ता बोलाइएको छ। मापदण्डअनुसार योग्य चालक मात्र पुनः नियुक्त गरिने व्यवस्था मिलाइने बताइएको छ।












प्रतिक्रिया दिनुहोस्