धनकुटामा दोहोरो नागरिकता र राहदानी बनाएको आरोपमा एक जना पक्राउ
धनकुटा — धनकुटामा फरक जन्ममिति उल्लेख गरी एउटै नाममा दुई वटा नेपाली नागरिकता र राहदानी बनाएको आरोपमा एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा महालक्ष्मी नगरपालिका–९ मुर्तिढुंगाका ४३ वर्षीय दोर्णराज काफ्ले रहेका छन्। जिल्ला प्रशासन कार्यालय धनकुटाले आवश्यक अनुसन्धानका लागि उनलाई जिल्ला प्रहरी कार्यालय धनकुटाको जिम्मा लगाएको हो।
सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद रेग्मीका अनुसार काफ्लेले फरक जन्ममिति उल्लेख गरी एउटै नाममा दुई वटा नागरिकता र त्यसका आधारमा राहदानी बनाएका थिए। विदेश यात्रा गरिसकेका काफ्ले राहदानी नवीकरणका लागि आउँदा राहदानी विभागले दुई वटा राहदानीको फोटो र बायोमेट्रिक विवरण मिलेको जानकारी गराएपछि उनलाई सोधपुछ गरिएको थियो। सो क्रममा उनले दोहोरो नागरिकता बनाएको स्वीकार गरेको प्रशासनले जनाएको छ।
जिल्ला प्रशासन कार्यालयका प्रशासनिक अधिकृत पुष्प धमलाका अनुसार काफ्ले आफैं दुई वटा नागरिकता बोकेर एउटा नागरिकता रद्द गरिदिन अनुरोध गर्दै प्रशासन कार्यालय पुगेका थिए।
प्रहरीका अनुसार काफ्लेले गलत उद्देश्यले झुटा विवरण पेश गरी आफ्नो वास्तविक जन्ममिति लुकाएर दोहोरो नेपाली नागरिकता प्राप्त गरेका थिए। ती दुवै नागरिकताका आधारमा राहदानी समेत लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ। प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी हेमन्त भण्डारी क्षेत्रीका अनुसार अनुसन्धानबाट प्राप्त प्रमाणका आधारमा प्रचलित कानुनअनुसार थप कानुनी प्रक्रिया अघि बढाइनेछ।


प्रतिक्रिया दिनुहोस्