१४ महिनापछि प्रमुख निर्वाचन आयुक्त नियुक्तिको तयारी, आज संवैधानिक परिषद्मा छलफल

काठमाडौं, १९ असार । सरकारले १४ महिनादेखि रिक्त रहेको प्रमुख निर्वाचन आयुक्त पदमा नियुक्तिको प्रक्रिया अघि बढाउने तयारी गरेको छ। शुक्रबार बस्ने संवैधानिक परिषद् बैठकमा प्रमुख निर्वाचन आयुक्तसहित विभिन्न संवैधानिक निकायमा नियुक्तिका लागि सिफारिसबारे छलफल हुने भएको छ।

प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेका अनुसार परिषद् बैठकले संवैधानिक निकायका रिक्त पदमा नियुक्तिसम्बन्धी आवश्यक निर्णय गर्ने कार्यसूची तय गरेको छ। सोही बैठकमा प्रमुख निर्वाचन आयुक्त र एक जना निर्वाचन आयुक्त नियुक्तिका लागि पनि सिफारिस हुने तयारी रहेको स्रोतले जनाएको छ।

निर्वाचन आयोग २०८२ साल वैशाख ५ गते तत्कालीन प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया आफ्नो ६ वर्षे कार्यकाल पूरा गरी अवकाश पाएयता प्रमुखविहीन रहेको छ। त्यसयता वरिष्ठ आयुक्त रामप्रसाद भण्डारीले कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी सम्हाल्दै आएका छन्।

यसअघि आयुक्त ईश्वर पौड्याल २०७९ फागुनमा अवकाश पाएपछि उनको स्थान पनि हालसम्म रिक्त छ। हाल आयोगमा कार्यवाहक प्रमुख आयुक्त भण्डारीसँगै आयुक्त जानकी तुलाधर र सगुन शम्शेर राणा कार्यरत छन्।

नेपालको संविधानअनुसार निर्वाचन आयोगमा प्रमुख निर्वाचन आयुक्तसहित बढीमा पाँच जना आयुक्त रहने व्यवस्था छ। यद्यपि, तीन सदस्यीय आयोगबाट पनि प्रभावकारी रूपमा काम सञ्चालन गर्न सकिने विषयमा समय–समयमा बहस हुँदै आएको छ। छिमेकी भारतमा पनि तीन सदस्यीय निर्वाचन आयोगबाट निर्वाचन सञ्चालन हुँदै आएको उदाहरण दिइने गरिन्छ।

प्रतिक्रिया दिनुहोस्