७२ वर्षपछि विश्वकपको नकआउट खेल जित्दै स्विट्जरल्याण्ड अन्तिम १६ मा

काठमाडौं, १९ असार ।  स्विट्जरल्याण्डले फिफा विश्वकप २०२६ मा ऐतिहासिक सफलता हासिल गर्दै ७२ वर्षपछि पहिलो पटक विश्वकपको नकआउट चरणको खेल जितेको छ।

क्यानडाको भ्याकुभरमा बिहीबार साँझ भएको अन्तिम ३२ को खेलमा स्विट्जरल्याण्डले अल्जेरियालाई २–० ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको हो।

स्विट्जरल्याण्डका लागि ब्रिल एम्बोलो र ड्यान एनडोएले एक–एक गोल गरे। टोलीले पहिलो पटक नकआउट चरणमा क्लिन सिट राख्दै जित निकाल्न पनि सफल भयो।

यसअघि स्विट्जरल्याण्डले सन् १९५४ मा आफ्नै घरेलु भूमिमा आयोजित विश्वकपमा इटालीलाई हराएर नकआउट चरण पार गरेको थियो। त्यसयता ७२ वर्षसम्म टोलीले विश्वकपको नकआउट खेल जित्न सकेको थिएन।

जितपछि गोलकर्ता ड्यान एनडोएले यो सफलता देशका लागि ऐतिहासिक भएको प्रतिक्रिया दिए। उनले टोलीले देशको सपना पूरा गर्ने दिशामा अर्को महत्वपूर्ण कदम चालेको बताए।

डिफेन्डर म्यानुएल आकान्जीले पनि टोलीको रक्षापंक्तिको प्रदर्शनको प्रशंसा गर्दै सही समयमा गोल गर्न सफल भएकाले जित सम्भव भएको बताए।

अब स्विट्जरल्याण्डले अन्तिम १६ मा कोलम्बिया वा घानामध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया दिनुहोस्