सिराहामा ११५ ग्राम ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ, नियन्त्रणमा लिन प्रहरीले चलायो गोली
काठमाडौं, १९ असार । सिराहामा ११५ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। उनलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा उनी घाइते भएका छन्।
लागुऔषध नियन्त्रण ब्युरोका एसपी दुर्गाराज रेग्मीका अनुसार शुक्रबार दिउँसो सिराहाको नवराजपुर गाउँपालिका–५ बाट भारतको मधुवनी निवासी ३५ वर्षीय अब्दुल कलामलाई पक्राउ गरिएको हो।
गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय महेशपुर र लागुऔषध नियन्त्रण ब्युरो सिराहा शाखाको संयुक्त टोलीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार कलामको साथबाट ११५ ग्राम ब्राउन सुगर, एउटा कटुवा पेस्तोल र दुई राउन्ड गोली बरामद भएको छ।
प्रहरीले नियन्त्रणमा लिन खोज्दा प्रतिरोध गरेपछि गोली चलाउनुपरेको र उनको खुट्टामा गोली लागेको एसपी रेग्मीले जानकारी दिए।
घाइते कलामलाई उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।







प्रतिक्रिया दिनुहोस्