युईएफएले ‘मुख छोपेर संवाद’ सम्बन्धी फिफाको रातो कार्ड नियम नलागुने स्पष्ट पार्‍यो

काठमाडौं, १९ असार । युरोपेली फुटबलको सर्वोच्च निकाय UEFA ले आफ्ना प्रमुख प्रतियोगिताहरूमा विपक्षी खेलाडीसँग मुख छोपेर कुरा गर्ने वा झगडा गर्ने व्यवहारलाई सिधै रातो कार्ड नदिइने स्पष्ट पारेको छ।

FIFA ले विश्वकपजस्ता प्रतियोगितामा यस्तो व्यवहारलाई अनुशासन उल्लङ्घन मानेर सिधै रातो कार्ड दिने नियम लागू गरेको भए पनि युईएफएले भने च्याम्पियन्स लिग, युरोपा लिग र कन्फरेन्स लिगमा उक्त नियम लागू नगर्ने निर्णय गरेको हो।

यो बहस फेब्रुअरीमा बेन्फिकाका जियानलुका प्रेस्टियानीले रियल मड्रिडका भिनिसियस जुनियरसँग कुरा गर्दा जर्सीले मुख छोपेको घटनापछि चर्किएको थियो। अनुसन्धानपछि प्रेस्टियानीले ‘होमोफोबिक टिप्पणी’ गरेको निष्कर्ष निकाल्दै उनलाई ६ खेलको प्रतिबन्ध समेत लगाइएको थियो।

यसपछि फिफा अध्यक्ष जियानी इन्फान्टिनोले खेलमा अपमानजनक वा गोप्य संवादलाई रोक्न मुख छोप्ने कार्यलाई रातो कार्ड दिने अवधारणा अघि सारेका थिए, जसलाई नियम बनाउने निकाय ‘इफाब’ ले अप्रिलमा अनुमोदन गरेको थियो।

विश्वकपमा यो नियम लागू भएपछि केही विवादास्पद घटना पनि भएका छन्। पाराग्वेका मिगेल आल्मिरोन र इक्वेडरका पिएरो हिन्कापीलाई भिएआर समीक्षा पछि रातो कार्ड दिइएको थियो भने इङ्ल्यान्डका जुड बेलिङ्घम र घानाका जोर्डन आयुबीचको घटनामा भने कार्ड नदिइएको भन्दै विवाद देखिएको थियो।

युईएफएका अनुसार प्रत्येक घटना फरक परिस्थितिमा हुने भएकाले रेफ्रीले छुट्टाछुट्टै मूल्याङ्कन गर्नुपर्ने हुन्छ। यदि खेलाडीले खेल भावना विपरीत कुरा लुकाउन खोजेको देखिएमा पहेँलो कार्ड दिन सकिने तर सिधै रातो कार्ड दिनु अनुशासनात्मक रूपमा कठोर हुन सक्ने युईएफएले स्पष्ट पारेको छ।

साथै युईएफएले कर्नरसम्बन्धी गलत निर्णय सच्याउन भिएआर प्रयोग गर्ने विकल्प भने स्वीकार गरेको छ। विश्वकपमा हालसम्म दर्जनौँ पटक गलत कर्नर निर्णयलाई गोल किकमा परिणत गरिएको पनि उल्लेख गरिएको छ।

यससँगै फिफाको नयाँ अनुशासनात्मक प्रयोग र युईएफएबीच नियम कार्यान्वयनमा देखिएको भिन्नताले अन्तर्राष्ट्रिय फुटबलमा नयाँ बहस सुरु भएको छ।

प्रतिक्रिया दिनुहोस्