जेनजी नागरिक अभियान कालापानी–लिपुलेक–लिम्पियाधुरा यात्रामा, सीमासम्बन्धी अवस्थाबारे स्थलगत अध्ययन गर्ने घोषणा

काठमाडौं, १९ असार । राष्ट्रिय जेनजी नागरिक अभियानका अभियन्ताहरू कालापानी, लिपुलेक र लिम्पियाधुरातर्फ स्थलगत यात्रामा निस्किएका छन्। अभियानले विवादित सीमाक्षेत्रको वर्तमान अवस्था बुझ्ने र स्थानीय अवस्थाबारे प्रत्यक्ष जानकारी संकलन गर्ने उद्देश्यले यात्रा सुरु गरिएको जनाएको छ।

अभियानका संयोजक सुनिल सिंह, सहसंयोजक अजय सोडारी, सचिव प्रकाश बम तथा सीमासम्बन्धी वृत्तचित्र निर्माणमा संलग्न नवल खड्का यात्रामा सहभागी छन्।

सहसंयोजक सोडारीका अनुसार अभियानले यसअघि काठमाडौंमा सीमासम्बन्धी विभिन्न छलफल तथा कार्यक्रमहरू सञ्चालन गर्दै आएको थियो। अहिले भने प्रत्यक्ष रूपमा विवादित क्षेत्रमा पुगेर त्यहाँको भौगोलिक, प्रशासनिक र सामाजिक अवस्था बुझ्ने योजना बनाइएको हो।

अभियानले स्थलगत अवलोकनका क्रममा स्थानीय बासिन्दासँग अन्तरक्रिया गर्ने तथा सीमा क्षेत्रमा देखिएको वर्तमान अवस्थाबारे तथ्य संकलन गर्ने जनाएको छ। साथै, आफूहरूले नेपाली भूमि ठानेको तर भारतको प्रशासनिक नियन्त्रणमा रहेको क्षेत्रमा राष्ट्रिय झण्डा फहराउने कार्यक्रमसमेत रहेको बताइएको छ।

अभियन्ताहरूले “देशभन्दा माथि केही हुँदैन, छिमेकी देशको हस्तक्षेप स्वीकार्य छैन, हामी नवयुवाहरू प्रतिकार गर्छौँ” भन्ने सन्देशसहित अभियान अघि बढाइएको बताएका छन्।

यात्रालाई लिएर सीमासम्बन्धी बहस फेरि चर्किने सम्भावना देखिएको छ, भने अभियानको गतिविधि र निष्कर्षलाई विभिन्न पक्षले चासोका साथ हेरेका छन्।

प्रतिक्रिया दिनुहोस्