कृषि मन्त्रालयद्वारा बर्ड फ्लु प्रभावित किसानलाई रु ५० करोड क्षतिपूर्ति निकासा

काठमाडौं, १९ असार । कृषि, वन तथा वातावरण मन्त्रालयले बर्ड फ्लुबाट प्रभावित किसानलाई क्षतिपूर्ति वितरणका लागि पशुसेवा विभागलाई रु ५० करोड निकासा गरेको छ।

मन्त्रालयले बर्ड फ्लु पुष्टि भएका ११ जिल्लामा नष्ट गरिएका पन्छी, अण्डा तथा दानाको क्षतिपूर्ति उपलब्ध गराउन रकमान्तरमार्फत उक्त रकम विभागलाई उपलब्ध गराएको हो। बर्ड फ्लुका कारण आर्थिक नोक्सानी बेहोरेका किसानलाई राहतस्वरूप क्षतिपूर्ति वितरण गर्न विभागले मन्त्रालयसँग रकम माग गरेको थियो।

पशुसेवा विभागका प्रवक्ता डा. मुकुल उपाध्यायका अनुसार प्रमाणित क्षतिको आधारमा प्रभावित किसानलाई क्षतिको ७५ प्रतिशतसम्म क्षतिपूर्ति उपलब्ध गराइनेछ।

विभागका अनुसार बर्ड फ्लु सङ्क्रमण देखिएका काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासी जिल्लामा करिब सात लाख पन्छी, ११ लाख अण्डा तथा तीन लाख किलो दाना नष्ट गरिएको थियो। यसबाट करिब रु ७० करोड बराबरको आर्थिक क्षति भएको विभागले जनाएको छ।

बर्ड फ्लु रोग नियन्त्रण (चौथो संशोधन) २०७४ अनुसार प्रमाणित क्षतिको विवरणका आधारमा नष्ट गरिएका पन्छी, पन्छीजन्य पदार्थ तथा पन्छी उत्पादन सामग्रीको मूल्याङ्कन गरी सम्बन्धित धनीलाई क्षतिको ७५ प्रतिशतसम्म क्षतिपूर्ति उपलब्ध गराउने कानुनी व्यवस्था रहेको छ।

गत चैतदेखि देशको पूर्वी क्षेत्रबाट फैलिन सुरु भएको बर्ड फ्लु सङ्क्रमण हाल ११ जिल्लामा फैलिएको छ। भाइरसको स्वरूप परिवर्तन हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै सम्भावित सङ्क्रमण नियन्त्रणका लागि प्रभावित क्षेत्रमा पन्छी, अण्डा तथा दाना नष्ट गरिएको प्रवक्ता उपाध्यायले जानकारी दिए।

रोग नियन्त्रणका लागि विभागका उपमहानिर्देशकको नेतृत्वमा बर्ड फ्लु रोग नियन्त्रणकक्ष स्थापना गरिएको छ। सङ्घ, प्रदेश तथा स्थानीय तहसँग समन्वय गर्दै प्रभावित क्षेत्रमा रोग नियन्त्रणका प्रयास निरन्तर जारी रहेको विभागले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्