दृष्टिविहीनहरूको आन्दोलन १२औँ दिनमा, सम्मानजनक रोजगारी र स्वरोजगारमा अवरोध नगर्न सरकारसँग माग
काठमाडौं, १९ असार । सडक पेटीलाई कार्यक्षेत्र बनाएर स्वरोजगारमूलक पेशामा संलग्न दृष्टिविहीनहरूले आफ्ना माग पूरा गर्न दबाब दिँदै शुक्रबार पनि माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। उनीहरूको आन्दोलन शुक्रबार १२औँ दिनमा पुगेको हो।
विगत १२ दिनदेखि निरन्तर माइतीघर मण्डलामा प्रदर्शन गर्दै आएका दृष्टिविहीनहरूले सरकारले आफूहरूलाई व्यवसाय गर्नबाट रोक लगाएको आरोप लगाएका छन्। उनीहरूले जीविकोपार्जनका लागि गर्दै आएको स्वरोजगार तथा सडक संगीतजस्ता पेशा निर्वाध रूपमा सञ्चालन गर्न पाउनुपर्ने माग गरेका छन्।
प्रदर्शनकारीहरूले सरकारले दृष्टिविहीनहरूको सम्मानजनक व्यवस्थापन गर्नुपर्ने, योग्यता, क्षमता र अनुभवका आधारमा रोजगारीको अवसर उपलब्ध गराउनुपर्ने बताएका छन्। त्यस्तो व्यवस्था तत्काल सम्भव नभएसम्म हाल गर्दै आएको स्वरोजगारलाई कुनै अवरोध बिना सञ्चालन गर्न दिनुपर्ने उनीहरूको भनाइ छ।
यस्तै, सामाजिक सुरक्षा भत्तामा उल्लेखनीय वृद्धि गर्नुपर्ने माग पनि उनीहरूले राखेका छन्।
प्रदर्शनमा सहभागीहरूले आफ्ना माग सम्बोधन नभएसम्म आन्दोलनलाई निरन्तरता दिने चेतावनी दिएका छन्। उनीहरूका अनुसार राज्यले दृष्टिविहीन नागरिकहरूको जीविकोपार्जनको अधिकार सुनिश्चित गर्दै सम्मानजनक जीवनयापनका लागि आवश्यक नीति तथा कार्यक्रम लागू गर्नुपर्ने आवश्यकता रहेको छ।







प्रतिक्रिया दिनुहोस्