बागमती प्रदेशलाई स्तरोन्नत डिजिटल पीआईएस पोर्टल हस्तान्तरण

काठमाडौं, १८ असार । राष्ट्रिय किताबखानाले कर्मचारी विवरण व्यवस्थापनका लागि प्रयोग हुँदै आएको प्रादेशिक वैयक्तिक सूचना प्रणाली (पीआईएस) लाई स्तरोन्नति गरी बागमती प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ।

हेटौँडामा आयोजित एक कार्यक्रमबीच राष्ट्रिय किताबखानाले बागमती प्रदेश सरकारलाई उक्त डिजिटल पीआईएस पोर्टल औपचारिक रूपमा हस्तान्तरण गरेको हो।

राष्ट्रिय किताबखानाका महानिर्देशक श्रवण कुमार पोखरेलले बागमती प्रदेशका प्रदेश सचिव रामबाबु पुरीलाई स्तरोन्नत गरिएको पोर्टल हस्तान्तरण गरेका हुन्। महानिर्देशक पोखरेलका अनुसार कर्मचारी अभिलेख व्यवस्थापनलाई थप प्रभावकारी, पारदर्शी र प्रविधिमैत्री बनाउन प्रणालीमा नयाँ मोड्युल तथा फिचरहरू थप गरिएको छ।

उनका अनुसार स्तरोन्नत प्रणालीमार्फत तीन प्रमुख सुधार हुनेछन्। यसअघि हस्तलिखित रूपमा व्यवस्थापन हुँदै आएको कर्मचारी सम्पत्ति विवरण अब डिजिटल मोड्युलमार्फत छिटो, छरितो र व्यवस्थित ढंगले अभिलेख गर्न सकिनेछ।

त्यस्तै कर्मचारीका सिटरोल तथा अन्य महत्वपूर्ण कागजातको प्रणालीगत लोकेटिङ र इन्डेक्सिङ सुविधा थपिएको छ, जसले पुराना अभिलेख खोज्न र सुरक्षित राख्न सहज बनाउनेछ।

साथै कर्मचारीहरूले आफ्नो सिटरोल दर्ता, संकेत नम्बर जारी वा सम्पत्ति विवरण दर्ता भएको जानकारी तत्काल एसएमएसमार्फत प्राप्त गर्न सक्ने व्यवस्था पनि प्रणालीमा समावेश गरिएको छ।

नयाँ प्रणाली पूर्ण रूपमा लागू भएपछि बागमती प्रदेश सरकारअन्तर्गत रहेका ६ हजार ८७१ कर्मचारी प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ। यसले कर्मचारी प्रशासनमा हुने ढिलासुस्ती घटाउने र व्यक्तिगत विवरणको सुरक्षा तथा पहुँचमा गुणात्मक सुधार ल्याउने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस्