प्रशिक्षक नबदलिँदासम्म राष्ट्रिय टोलीबाट नखेल्ने पापे गुएको घोषणा

काठमाडौं, १८ असार । सेनेगलका मिडफिल्डर पापे गुएले वर्तमान प्रशिक्षक तथा व्यवस्थापन टोली कायम रहेसम्म राष्ट्रिय टोलीबाट नखेल्ने घोषणा गरेका छन्।

विश्वकपको नकआउट चरणमा बेल्जियमसँग अप्रत्याशित हार बेहोरेपछि उनले केही समयका लागि राष्ट्रिय टोलीबाट विश्राम लिने निर्णय सार्वजनिक गरेका हुन्।

सामाजिक सञ्जालमार्फत गुएले विश्वकपबाट बाहिरिनुको विषयमा पछि विस्तृत धारणा राख्ने उल्लेख गर्दै हालको प्रशिक्षक टोली पदमा रहुञ्जेल राष्ट्रिय टोलीबाट नखेल्ने बताएका छन्।

स्पेनको भिल्लारियलबाट व्यावसायिक फुटबल खेलिरहेका २७ वर्षीय गुएले सेनेगलका लागि ४५ अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन्। यस विश्वकपको समूह चरणमा उनले इराकविरुद्ध दुई गोल गरेका थिए। बेल्जियमविरुद्धको खेलमा भने उनी ६६औँ मिनेटमा मैदानबाट बाहिरिएका थिए।

सेनेगलले उक्त खेलमा २–० को अग्रता जोगाउन नसक्दा अतिरिक्त समयमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो। खेलको अन्त्यतिर बेल्जियमले पुनरागमन गर्दै विवादित पेनाल्टीमार्फत निर्णायक गोल गरेको थियो।

प्रशिक्षक पापे थियाव यसअघि पनि निर्णयका कारण विवादमा परेका थिए। टोलीभित्रको असन्तुष्टि र प्रशिक्षकको कार्यशैलीप्रति असहमति जनाउँदै गुएले राष्ट्रिय टोलीबाट विश्राम लिने निर्णय गरेको बताइएको छ।

गुएको घोषणापछि सेनेगल फुटबलमा नयाँ बहस सुरु भएको छ भने यस विषयमा फुटबल प्रशासनले आगामी दिनमा कस्तो निर्णय लिन्छ भन्ने चासो बढेको छ।

प्रतिक्रिया दिनुहोस्