राम्दीमा कालीगण्डकीमाथि निर्माणाधीन ‘सिग्नेचर पुल’ ९५ प्रतिशत सम्पन्न
काठमाडौं, १८ असार । पाल्पा र स्याङ्जाको सङ्गमस्थल राम्दीस्थित कालीगण्डकी नदीमाथि निर्माणाधीन आधुनिक ‘सिग्नेचर पुल’को काम अन्तिम चरणमा पुगेको छ। हालसम्म पुल निर्माणको करिब ९५ प्रतिशत काम सम्पन्न भएको आयोजना पक्षले जनाएको छ।
गण्डकी र लुम्बिनी प्रदेशलाई जोड्ने सिद्धार्थ राजमार्गअन्तर्गत निर्माण भइरहेको पुलको काम तीव्र गतिमा अघि बढिरहेको पुल क्षेत्र पोखराका आयोजना प्रमुख कृष्णराज अधिकारीले जानकारी दिए।
विसं २०२८ मा निर्माण भएको ९३ मिटर लामो स्टिल ट्रस पुल जीर्ण बन्दै गएपछि त्यसको विकल्पका रूपमा नयाँ प्रविधिमा आधारित १२३ मिटर लामो सिग्नेचर पुल निर्माण गरिएको हो।
पुल ११ मिटर चौडाइको हुनेछ भने पैदलयात्रुका लागि छुट्टै फुटपाथको व्यवस्था गरिएको छ। ४० टन भारवहन क्षमता रहने पुल ‘सीएएफएसआरआई स्टिल ट्युब आर्क’ प्रविधिमा निर्माण भइरहेको सडक विभागअन्तर्गत पुल महाशाखाले जनाएको छ।
हिम सगरमाथा कन्स्ट्रक्सन प्रालिसँग २०७९ असार ३० गते निर्माण सम्झौता भएको उक्त पुलको लागत २७ करोड ७१ लाख ९ हजार रुपैयाँ रहेको छ। प्रारम्भिक रूपमा १२० मिटर लम्बाइ तय गरिएको पुलमा पछि थप ३ मिटर विस्तार गरिएको आयोजना प्रमुख अधिकारीले बताए।
हाल सञ्चालनमा रहेको पुरानो पुलबाट ठूला मालवाहक सवारी सञ्चालन गर्न कठिनाइ हुँदै आएको थियो। नयाँ पुल निर्माण अन्तिम चरणमा पुगेपछि ढुवानी व्यवसायी, उद्योगी, व्यापारी तथा स्थानीय उपभोक्ताले सहज आवागमन र ढुवानी सुविधा हुने अपेक्षा गरेका छन्।
व्यापारिक, धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण मानिने राम्दी क्षेत्रमा निर्माण भइरहेको यो पुल सञ्चालनमा आएपछि क्षेत्रीय यातायात र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ।







प्रतिक्रिया दिनुहोस्