अन्तिम मिनेटमा उल्टियो खेल, बेल्जियमको नाटकीय जितसँगै सेनेगल बाहिरियो
काठमाडौं, १८ असार । विश्वकपमा सेनेगलले अन्तिम १६ मा स्थान बनाउने नजिक पुगेको खेल अन्तिम मिनेटमा उल्टिँदा बेल्जियमले ३–२ को नाटकीय जित दर्ता गरेको छ।
सेनेगलले खेलको ८६ औं मिनेटसम्म २–० को अग्रता बनाएको थियो। हबिब डियारा र इस्माइला सारले गोल गर्दै टोलीलाई सहज अवस्थामा पुर्याएका थिए। तर अन्तिम मिनेटमा बेल्जियमले अविश्वसनीय पुनरागमन गर्यो।
८६ औं मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै खेलमा फर्काउने संकेत दिए। त्यसको तीन मिनेटपछि कप्तान युरी टिलेम्यान्सले हेडमार्फत गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए।
खेल अतिरिक्त समयमा पुगेपछि १२५ औं मिनेटमा भिएआर चेकपछि बेल्जियमले पेनाल्टी पायो। लामिन कामाराले टिलेम्यान्सलाई लडाएको भन्दै रेफ्रीले पेनाल्टी दिएका थिए। टिलेम्यान्सले नै पेनाल्टीलाई गोलमा परिणत गर्दै बेल्जियमलाई ऐतिहासिक जित दिलाए।
यो गोल विश्वकप इतिहासमै सबैभन्दा ढिलो समयमा (१२४ मिनेट ४४ सेकेन्ड) भएकोमध्ये एक मानिएको छ।
खेलपछि सेनेगल प्रशिक्षक थियावले हारप्रति निराशा व्यक्त गर्दै फुटबलमा जे पनि हुन सक्ने बताए। यद्यपि, भिएआर निर्णय र पेनाल्टीबारे विवाद भने कायम रह्यो। केही फुटबल विश्लेषकहरूले उक्त पेनाल्टी निर्णयलाई अत्यधिक कठोर भएको भन्दै आलोचना गरेका छन्।
यस हारसँगै सेनेगल प्रतियोगिताबाट बाहिरिएको छ भने बेल्जियम अन्तिम १६ मा प्रवेश गरेको छ, जहाँ उसले आयोजक अमेरिका विरुद्ध खेल्नेछ।







प्रतिक्रिया दिनुहोस्