मेक्सिको सिटीमा विश्वकप जितको उत्सवमा भागदौड, चार जनाको मृत्यु

काठमाडौं, १८ असार । विश्वकपको जितको खुसीयाली मनाउने क्रममा मेक्सिको सिटीमा भएको भागदौड र भिडभाडका घटनामा चार जनाको मृत्यु भएको छ। मृतकमध्ये १९ वर्षीया युवतीसहित तीन जना अन्य व्यक्तिहरू रहेको स्थानीय स्वास्थ्य अधिकारीहरूले बुधबार जानकारी दिएका छन्।

अधिकारीहरूका अनुसार मेक्सिकोले इक्वेडरलाई पराजित गरेपछि राजधानीका सडकहरूमा लाखौं समर्थकहरू उत्सव मनाउन निस्किएका थिए। अत्यधिक भीडका कारण ४८ वर्षीया महिला र ४४ वर्षीय पुरुषको निसास्सिएर मृत्यु भएको बताइएको छ। त्यस्तै, ३० वर्षीय अर्का पुरुषको छारे रोग (मिर्गी) का कारण ज्यान गएको जनाइएको छ।

स्वास्थ्य अधिकारीहरूले भिडभाडका विभिन्न स्थानमा तीन जना मानिस बेहोस अवस्थामा फेला परेका थिए। उनीहरूलाई तत्काल प्राथमिक उपचार र सीपीआर दिएर अस्पताल पुर्‍याइए पनि चिकित्सकहरूले मृत घोषणा गरेका थिए।

मेक्सिकोले सन् १९८६ पछि पहिलो पटक विश्वकपको नकआउट चरणमा जित दर्ता गरेपछि राजधानीसहित विभिन्न शहरमा लाखौं समर्थक सडकमा उत्रिएका थिए। सहरको प्रमुख केन्द्र ‘एन्जेल अफ इन्डिपेन्डेन्स’ वरपर विशेष गरी अत्यधिक भीड देखिएको थियो।

सहरकी मेयर क्लारा ब्रुगाडाले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेकी छन्। उनले आवश्यक सहयोग उपलब्ध गराइने प्रतिबद्धता जनाउँदै समर्थकहरूलाई भविष्यमा “जिम्मेवार र सुरक्षित रूपमा उत्सव मनाउन” आग्रह गरेकी छिन्।

सुरक्षा जोखिमको संकेत देखिएपछि मेयरले खेलअघि नै सो क्षेत्रमा नजान आग्रह गरे पनि ठूलो संख्यामा समर्थकहरू भेला भएका थिए।

यस जितसँगै मेक्सिको विश्वकपको ‘राउन्ड अफ १६’ मा प्रवेश गरेको छ। अब मेक्सिकोले इंग्ल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ, जसले बुधबार डिआर कंगोलाई २–१ ले पराजित गर्दै अघिल्लो चरणमा पुगेको हो।

प्रतिक्रिया दिनुहोस्