काठमाडौं उपत्यकामा साउन १ गतेदेखि ‘ब्लू बस’ सेवा सञ्चालन गर्ने तयारी
काठमाडौं, १८ असार । आगामी साउन १ गतेदेखि काठमाडौं उपत्यकामा पहिलो चरणमा आठ वटा ‘ब्लू बस’ सेवा सञ्चालन गर्ने तयारी गरिएको छ।
सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीअन्तर्गत महिलाको सुरक्षित आवागमन सुनिश्चित गर्ने उद्देश्यसहित सातै प्रदेशमा निःशुल्क बस सेवा विस्तार गर्ने योजना अघि सारिएको हो।
पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता रामहरि पोखरेलका अनुसार पहिलो १०० दिनभित्र कुल २५ वटा बस सञ्चालन गर्ने लक्ष्य रहेको छ।
सञ्चालनका लागि साझा यातायातले अर्थ मन्त्रालयमा राय–सुझावका लागि पत्राचार गरेको छ। अर्थ मन्त्रालयबाट सहमति प्राप्त भएपछि पहिलो चरणमा साउन १ गतेदेखि सेवा सुरु गरिनेछ।
प्रारम्भिक चरणमा लगनखेल–बुढानीलकण्ठ रुट र थानकोट–नागढुङ्गा–विमानस्थल रुटमा दुई–दुई वटा बस सञ्चालन गरिनेछ। त्यस्तै, चक्रपथ (रिङरोड) क्षेत्रमा चार वटा बस सञ्चालन हुनेछन्, जसमा दुई वटा घडीको दिशामा (क्लकवाइज) र दुई वटा विपरीत दिशामा (एण्टिक्लकवाइज) सञ्चालन गरिने मन्त्रालयले जनाएको छ।







प्रतिक्रिया दिनुहोस्