प्रतिनिधिसभाबाट आज चार अध्यादेश प्रतिस्थापन विधेयक पारित गर्ने तयारी
काठमाडौं, १८ असार । प्रतिनिधिसभाले आज चार वटा अध्यादेश प्रतिस्थापन विधेयक पारित गर्ने कार्यसूची तय गरेको छ। बैठकमा ती विधेयकमाथि दफावार छलफल, संशोधनमाथि निर्णय र अन्तिम रूपमा पारित गर्ने प्रक्रिया अघि बढाइनेछ।
कार्यसूचीअनुसार प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३ माथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछिन्। छलफलपछि प्राप्त संशोधनहरू निर्णयार्थ प्रस्तुत गरिनेछन् र त्यसपछि विधेयक पारितका लागि प्रस्ताव राखिनेछ।
यस्तै, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ माथि दफावार छलफलको प्रस्ताव प्रस्तुत गर्नेछन्। संशोधनमाथि निर्णयपछि उक्त विधेयक पारितका लागि सदनमा प्रस्ताव राखिने कार्यसूची छ।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ माथि दफावार छलफलको प्रस्ताव पेश गर्नेछिन्। सो विधेयक पनि आजै छलफल सम्पन्न गरी पारित गर्ने तयारी गरिएको छ।
त्यसैगरी स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३ माथि दफावार छलफल तथा पारितको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
यी चारै विधेयक सरकारले संसद् अधिवेशन नरहेका बेला जारी गरेका अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याइएका हुन्। सरकारले त्यसबेला आठ वटा अध्यादेश जारी गरेको थियो, जसमध्ये चार वटा अहिले प्रतिस्थापन विधेयकका रूपमा संसद्मा विचाराधीन छन्।
प्रतिनिधिसभाबाट पारित भएका विधेयक राष्ट्रिय सभामा पठाइनेछन्। राष्ट्रिय सभाबाट पनि स्वीकृत भएपछि ती विधेयक पुनः प्रतिनिधिसभामा फर्किनेछन्। त्यसपछि सभामार्फत राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पठाइनेछ र राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ती विधेयक ऐनका रूपमा लागू हुनेछन्।







प्रतिक्रिया दिनुहोस्