राष्ट्रिय सभाको बैठक बस्दै, विनियोजन विधेयकमाथिको छलफल हुने
काठमाडौं, १८ असार । सङ्घीय संसद्अन्तर्गत राष्ट्रिय सभाको एक्काइसौं अधिवेशनको चौबीसौँ बैठकमा विनियोजन विधेयकमाथि केन्द्रित रहेर छलफल हुने भएको छ।
बिहीबार अपराह्न १:१५ बजे बस्ने तय भएको उक्त बैठकका लागि संसद् सचिवालयले सम्भावित दैनिक कार्यसूची सार्वजनिक गरेको छ। यस बैठकमा मुख्य गरी विनियोजन विधेयक, २०८३ का विभिन्न शीर्षकहरूमाथि केन्द्रित रहेर छलफल चलाइने तयारी गरिएको छ।
संसद सचिवालयका अनुसार बैठकमा विनियोजन विधेयकमा समावेश गरिएका विभिन्न मन्त्रालयका बजेट शीर्षकहरूमाथि समूहीकृत रूपमा छलफल हुनेछ। छलफलका लागि युवा, श्रम तथा रोजगार मन्त्रालय र सूचना तथा सञ्चार मन्त्रालयका शीर्षकहरू तय गरिएका छन्। यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको बजेट विनियोजनमाथि पनि सदस्यहरूले आ-आफ्नो धारणा राख्नेछन्।
छलफलकै क्रममा भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयका शीर्षकहरूमाथि पनि गहन विचारविमर्श हुने जनाइएको छ। संसद्का महासचिव पद्म प्रसाद पाण्डेयका अनुसार बाँकी रहेका विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका विनियोजन शीर्षकहरू पनि बिहीबारकै छलफलको कार्यसूचीमा समेटिएका छन्।







प्रतिक्रिया दिनुहोस्