इन्धन आपूर्ति समस्या समाधान भएको आयल निगमको दाबी, निजी पम्प अझै बन्द
काठमाडौं, १७ असार । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको दाबी गरेको छ।
निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार पम्पहरूमा मौज्दात कम भएका कारण केही स्थानमा लाइन देखिएको थियो। तर थानकोट डिपोबाट मागअनुसार इन्धन लोड भएर वितरण भइसकेको उनले जानकारी दिए।
“थानकोट डिपोबाट मागअनुसार पेट्रोलियम पदार्थ लोड भएर धेरै पम्पमा पुगिसकेको छ, बाँकी पम्पमा पनि पुग्ने क्रममा छ,” प्रवक्ता ठाकुरले भने, “अहिले पेट्रोलियम पदार्थको बिक्री वितरणमा कुनै समस्या छैन।”
उपत्यकासहित प्रमुख सहरका पेट्रोल पम्पहरूमा उपभोक्ताको चाप बढेपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्देशनमा निगमले अनुगमनसमेत गरेको थियो।
निगमका अनुसार काठमाडौं उपत्यकाका पम्पहरूले आज मात्रै थानकोट डिपोबाट १३ लाख लिटर पेट्रोल र १३ लाख लिटर डिजेल उठाएका छन्। उपत्यकामा करिब १३० भन्दा बढी पेट्रोल पम्प सञ्चालनमा रहेका छन्।
तर निगमले समस्या समाधान भएको बताए पनि काठमाडौंका केही निजी पेट्रोल पम्पहरू अझै बन्द छन्। ती पम्पहरूमा ‘पेट्रोल उपलब्ध छैन’ भन्ने सूचना टाँसिएको देखिएको छ।
यसबीच, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका पम्पहरूमा भने इन्धन उपलब्ध रहेको छ। निजी पम्प बन्द हुँदा ती सुरक्षा निकायका पम्पहरूमा उपभोक्ताको लामो लाइन देखिएको छ।







प्रतिक्रिया दिनुहोस्